एआइको सहयोगबाट तयार पारिएको तस्बिर ।
वीरगञ्ज । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे प्रधानमन्त्री बालेन शाह, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबिच विस्तृत छलफल भएको छ ।
मङ्गलवार राति सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त छलफल करिब चार घण्टाभन्दा बढी समयसम्म चलेको स्रोतले जनाएको छ ।
छलफल मुख्यतः आगामी बजेटका प्राथमिकता निर्धारण, सरकारको नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने रणनीति तथा बजेटलाई परिणाममुखी बनाउने उपायहरूमा केन्द्रित रहेको बताइएको छ ।
प्रधानमन्त्री शाह दिनभर विभिन्न राजनीतिक तथा प्रशासनिक भेटघाटमा व्यस्त रहेपछि कार्यालय समयपश्चात् अर्थमन्त्री वाग्ले र रास्वपा सभापति लामिछानेसँग संवादमा जुटेका थिए । बालेन नेतृत्वको सरकारले ल्याउन लागेको यो पहिलो बजेट भएकाले यस भेटवार्तालाई राजनीतिक वृत्तमा विशेष महत्वका साथ हेरिएको छ ।
अर्थमन्त्री डा. वाग्लेले आगामी बजेट रूपान्तरणकारी हुने दाबी गर्दै आर्थिक अनुशासन, उत्पादनमुखी लगानी, सुशासन र सार्वजनिक सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखिने सङ्केत दिएका छन् । स्रोतका अनुसार तीन नेताबिच बजेटमार्फत जनअपेक्षा सम्बोधन गर्ने, आर्थिक गतिविधि चलायमान बनाउने र संरचनात्मक सुधारका पहललाई सशक्त बनाउने विषयमा समेत सहमति जुटाउने प्रयास भएको थियो ।
सरकारले निकट भविष्यमा आगामी आर्थिक वर्षको बजेट संसद्मा प्रस्तुत गर्ने तयारी गरिरहेको छ ।