×

बर्दिबास । मधेश प्रदेशको महोत्तरी जिल्ला स्थित बर्दिबासका होटल तथा पर्यटन व्यवसायीहरूले बेला–बेलामा हुने घटनालाई अतिरञ्जित ढंगले प्रस्तुत गरी पर्यटन तथा होटल व्यवसायीको मनोबल कमजोर पार्ने काम भइरहेको भन्दै गुनासो गरेका छन्।

गत जेठ ११ गते वन कर्मचारीले गरेको भनिएको अमर्यादित तथा अवैध व्यवहारका कारण उत्पन्न परिस्थितिपछि राज्य पक्षले आफ्नो गल्ती स्वीकार गर्दै माफी मागिसकेको अवस्थामा समेत व्यवसायीहरूलाई विभिन्न आरोप लगाएर दोषारोपण हुने खालका समाचार र सन्देश प्रवाह भएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन्।

बर्दिबासस्थित होटल गौतममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक केसी लामिछाने, मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा तथा सदस्य त्रिलोकी यादवसँग भएको छलफलका क्रममा व्यवसायीहरूले आफ्नो धारणा राखेका थिए।

छलफलमा होटल तथा पर्यटन व्यवसायी संघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतम, महोत्तरी जिल्ला अध्यक्ष गुञ्जबहादुर कार्की लगायत प्रदेश तथा जिल्लाका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

सो अवसरमा जेठ ११ गते बर्दिबास–३ स्थित कालापानीमा भएको घटनाका विषयमा विस्तृत छलफल गरिएको थियो। त्यसपछि होटल तथा पर्यटन व्यवसायी संघले प्रेस विज्ञप्तिमार्फत आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको जनाएको छ।

महोत्तरी जिल्ला अध्यक्ष गुञ्जबहादुर कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा कालापानी घटनापछि बर्दिबासका पानस होटल र भण्डारी होटलका सञ्चालकमाथि दोषारोपण गरिएको भन्दै केही सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर आपत्ति जनाइएको छ।

विज्ञप्तिमा यस्ता समाचारले वास्तविक तथ्यलाई ओझेलमा पार्ने, भ्रम सिर्जना गर्ने तथा पर्यटन व्यवसायीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने काम गरेको उल्लेख गर्दै जिम्मेवार र तथ्यमा आधारित पत्रकारिताको आवश्यकता औँल्याइएको छ।

Back to top