×

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपालले पछिल्ला दिनहरूमा वीरगञ्जसहित देशका विभिन्न स्थानमा सञ्चालित बजार अनुगमन तथा खाद्य स्वच्छतासम्बन्धी समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मञ्चले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत उपभोक्ताको सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चारमाध्यमहरूले निरन्तर रूपमा समाचार सम्प्रेषण गरिरहेकोप्रति धन्यवाद व्यक्त गरेको छ। साथै खाद्य स्वच्छता तथा गुणस्तर कायम गराउने मुख्य जिम्मेवारी सम्बन्धित सरकारी निकायको भएको उल्लेख गरेको छ।

विज्ञप्तिमा स्वस्थ र गुणस्तरीय खाद्यवस्तु प्राप्त गर्नु प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै खाद्यवस्तुको उत्पादन, बजार अनुगमन तथा गुणस्तर परीक्षण गर्ने जिम्मेवारी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा मातहतका कार्यालयहरूको भएको बताइएको छ। बजारमा गुणस्तरहीन तथा मापदण्ड विपरीतका वस्तु बिक्री–वितरण भइरहेको अवस्थामा सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन आवश्यक रहेको मञ्चको भनाइ छ।

मञ्चले उपभोक्ता सचेतना कार्यक्रम विस्तार हुँदै जाँदा बजारमा पारदर्शिता र जबाफदेहिता समेत बढ्ने विश्वास व्यक्त गरेको छ। खाद्य स्वच्छता तथा गुणस्तर कायम राख्न सम्बन्धित सरकारी निकायले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा पनि जोड दिइएको छ।

विज्ञप्तिमार्फत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सञ्चालन गर्दै आएको “मोबाइल न्याय स्थान” कार्यक्रमलाई मधेस प्रदेशका आठ वटै जिल्लामा कम्तीमा १० देखि १२ दिनसम्म सञ्चालन गरी खाद्य स्वच्छता कायम गर्न विशेष पहल गर्नुपर्ने माग गरिएको छ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष सुनिल कुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा उपभोक्ताको स्वास्थ्य तथा अधिकार संरक्षणका लागि बजार अनुगमनलाई अझ प्रभावकारी बनाउन सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गरिएको छ।

Back to top