×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको पहल र लामो समयदेखिको प्रयासपछि घण्टाघर नजिक निर्माणाधीन बिपी पार्क आकर्षक स्वरूपमा तयार हुँदै गएको छ ।

वीरगञ्जको मुटु मानिने घण्टाघर क्षेत्रस्थित पार्कको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । पार्कको संरचना, हरियाली तथा सौन्दर्यीकरणको काम अन्तिम चरणमा पुगेको र यसको दृश्यले सर्वसाधारणको ध्यान आकर्षित गरिरहेको छ ।

नगर प्रमुख राजेशमान सिंहले बिपी पार्कलाई वीरगञ्जवासीका लागि आधुनिक, व्यवस्थित तथा मनोरञ्जनयुक्त सार्वजनिक स्थलका रूपमा विकास गर्ने लक्ष्यका साथ निर्माण कार्य अगाडि बढाइएको बताए । उनका अनुसार पार्कको बाँकी काम सम्पन्न गरी केही महिनाभित्रै सर्वसाधारणका लागि खुला गरिने तयारी भइरहेको छ ।

पार्क सञ्चालनमा आएपछि नगरवासीलाई मनोरञ्जन, विश्राम तथा पारिवारिक भेटघाटका लागि उपयुक्त सार्वजनिक स्थान उपलब्ध हुने विश्वास गरिएको छ । साथै यसले वीरगञ्जको सौन्दर्य अभिवृद्धि गर्नुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

महानगरपालिकाले पार्कलाई आधुनिक सुविधासहित व्यवस्थित रूपमा सञ्चालन गर्ने योजना बनाएको जनाएको छ ।

Back to top