×

वीरगञ्ज । प्रतिनिधि सभा बैठकका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ आक्रोशित बनेपछि उनकै पार्टीका सांसदहरूले उनलाई बैठक कक्ष बाहिर लगेका छन् ।

बैठकमा प्रधानमन्त्रीले आकस्मिक रूपमा प्रश्नको जवाफ दिएर बाहिरिएपछि विपक्षी दलका सांसदहरूले नियमापत्तिको विषय उठाइरहेका बेला तामाङ आक्रोशित रूपमा प्रस्तुत भएकी थिइन् ।

प्रत्यक्षदर्शीका अनुसार तामाङ आफ्नो सिटबाट उठेर अगाडिको लहरतर्फ जान खोजेपछि रास्वपाकै सांसदहरूले उनलाई रोक्ने प्रयास गरेका थिए । सो क्रममा सांसद रञ्जु दर्शना, ज्वाला सङ्ग्रौला, भूमिका श्रेष्ठलगायतले उनको हात समातेर शान्त गराउने प्रयास गरेका थिए ।

स्थिति थप तनावपूर्ण हुन नदिन सहकर्मी सांसदहरूले तामाङलाई बैठक कक्ष बाहिर लगेका थिए । घटनापछि केही समय सदनको वातावरण तनावपूर्ण बनेको बताइएको छ ।

उक्त घटनाप्रति संसद् परिसर तथा राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया आइरहेका छन् । यद्यपि घटनाबारे सम्बन्धित पक्षबाट विस्तृत आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन ।

Back to top