वीरगञ्ज । वीरगञ्जस्थित ऐतिहासिक कृषि औजार कारखानालाई पुनः सञ्चालनमा ल्याउने प्रयासलाई राष्ट्रिय आविष्कार केन्द्रले तीव्रता दिएको छ। कारखानालाई आधुनिक प्रविधियुक्त उत्पादन केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित केन्द्रले कृषि क्षेत्रका लागि आवश्यक विभिन्न उपकरण तथा प्रविधिको विकास र उत्पादनमा काम गरिरहेको छ।
राष्ट्रिय आविष्कार केन्द्रले कीर्तिपुरस्थित आफ्नो अनुसन्धान केन्द्र र वीरगञ्जस्थित कृषि औजार कारखानाबीच कार्य विभाजन गरी काम अघि बढाएको जनाएको छ। यसअनुसार कीर्तिपुरमा कृषि औजार तथा प्रविधिको अनुसन्धान र विकास गरिनेछ भने वीरगञ्जमा ती उपकरणहरूको व्यावसायिक उत्पादन गरिने व्यवस्था मिलाइएको छ।
हालसम्म कारखानाले मकै, धान र आलु रोप्ने मसिन, अगरबत्ती तथा गमला बनाउने मसिन, चिया सुकाउने मसिन, टुथपिक बनाउने मसिन, दाना बनाउने मसिन तथा हाते ट्याक्टरलगायतका विभिन्न उपकरणहरू निर्माण गरिसकेको छ।
केन्द्रका अनुसार उत्पादन गरिएका उपकरणहरूको परीक्षण तथा परिमार्जनको काम जारी रहेकाले हालसम्म बिक्री मूल्य र विस्तृत प्राविधिक विवरण (स्पेसिफिकेसन) भने तय गरिएको छैन। आवश्यक परीक्षण तथा मूल्यांकन प्रक्रिया पूरा भएपछि ती उपकरणहरू बजारमा ल्याइने तयारी भइरहेको छ।
कारखानामा निर्माण गरिएका केही नमुना उपकरणहरू हाल कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा प्रदर्शनीका लागि राखिएका छन्। प्रदर्शनीमा राखिएका उपकरणहरूले स्वदेशमै कृषि तथा साना उद्योगका लागि आवश्यक प्रविधि विकास र उत्पादन गर्न सकिने सम्भावना उजागर गरेका छन्।
लामो समयदेखि बन्द अवस्थामा रहेको कृषि औजार कारखानालाई पुनर्जीवित गर्ने प्रयासले स्वदेशी उत्पादन प्रवर्द्धन, रोजगारी सिर्जना तथा कृषि क्षेत्रको आधुनिकीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।