×

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सामा आन्तरिक विवाद सतहमा आएको छ । भोली जेठ २४ गतेका लागि तय गरिएको जिल्ला अधिवेशन अघि निर्वाचन प्रक्रिया र सङ्गठनात्मक संरचनालाई लिएर नेताहरूबिच असन्तुष्टि बढेपछि अधिवेशन स्थगित गर्न औपचारिक माग गरिएको छ ।

पार्टीका सदस्य महादेव प्रसाद कुर्मीले निर्वाचन संयोजक डा. नन्दन यादवलाई सम्बोधन गर्दै ज्ञापन पत्र बुझाएका छन् । उक्त ज्ञापन पत्र मधेस प्रदेश उपसभापति राधिका न्यौपाने साह कलवार तथा मधेस प्रदेश सङ्गठन विभाग उपप्रमुख प्रमोद कुमार रायमाझीलाई समेत बुझाइएको छ ।

ज्ञापन पत्रमा जिल्ला अधिवेशनका लागि सार्वजनिक गरिएको प्रतिनिधिहरूको नामावलीमा विभिन्न विभागका प्रतिनिधिहरू समावेश गरिएको उल्लेख गर्दै विभागहरू कहिले, कुन प्रक्रिया र निर्णयका आधारमा गठन वा मनोनयन गरिएको हो भन्नेबारे स्पष्ट जानकारी माग गरिएको छ ।

विभाग गठनसम्बन्धी माइन्युट, निर्णय विवरण तथा पार्टीको आधिकारिक पोर्टलमा त्यससम्बन्धी सूचना उपलब्ध भए/नभएको प्रमाणसमेत उपलब्ध गराउन माग गरिएको छ ।

मागअनुसारको विवरण सार्वजनिक नभएसम्मका लागि निर्वाचनको सम्पूर्ण प्रक्रिया तत्काल स्थगित गर्न अनुरोध गरिएको छ । साथै, वीरगञ्ज महानगरपालिकाको नयाँ कार्यसमितिको पोर्टल कसले सञ्चालन गरिरहेको छ भन्ने विषयमा पनि स्पष्ट जानकारी दिन आग्रह गरिएको छ ।

पार्टीभित्र विभाग गठन र प्रतिनिधि छनोट प्रक्रियालाई लिएर लामो समयदेखि असन्तुष्टि बढ्दै आएको स्रोतको दाबी छ । केही नेताहरूले विधि र प्रक्रिया मिचेर मनोनयन गरिएको आरोप लगाएका छन् भने अर्को पक्षले विधानअनुसार नै तयारी अघि बढाइएको दाबी गर्दै आएको छ । सोही विवादका कारण अधिवेशन पूर्व नै पार्टीभित्र ध्रुवीकरण देखिएको बताइएको छ ।

जिल्ला अधिवेशन नजिकिँदै गर्दा विवाद सार्वजनिक रूपमै बाहिर आएपछि पर्सा रास्वपाको आन्तरिक एकता र सङ्गठनात्मक मजबुतीमाथि प्रश्न उठ्न थालेको छ । यद्यपि, यस विषयमा जिल्ला नेतृत्व वा प्रदेश समितिबाट औपचारिक प्रतिक्रिया भने आउन बाँकी छ ।

आगामी दिनमा पार्टी नेतृत्वले विवाद समाधान गर्दै अधिवेशन निर्धारित मितिमै सम्पन्न गर्ने कि स्थगित गर्ने भन्ने विषयमा चासो बढेको छ ।

Back to top