फाइल तस्बिर ।
वीरगञ्ज । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय मानव अधिकार आयोगका प्रतिवेदन र सिफारिसहरूको पूर्ण कार्यान्वयन अनिवार्य हुनुपर्नेमा जोड दिएका छन् ।
शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदन र सिफारिसबारे धारणा राख्दै थापाले विगतमा आयोगका सिफारिसहरू कार्यान्वयन नहुँदा पीडितले न्याय नपाएको र दोषीहरू सजायबाट उम्किएको अवस्था दोहोरिन नहुने बताए ।
उनले भने, “मानव अधिकार आयोगका प्रतिवेदनहरू यसअघि पनि धेरै पटक आए, सिफारिसहरू पनि भए, तर तिनको कार्यान्वयन भएन । यदि ती सिफारिसहरूको कार्यान्वयन भएको भए धेरै मानव अधिकार हननका दोषीहरूले सजाय पाउने थिए र पीडितहरूले न्याय पाउने अवस्था हुन्थ्यो । यो प्रश्नलाई हामीले गम्भीर रूपमा लिएका छौँ ।”
थापाले नेपाली काँग्रेस नयाँ सोचका साथ अघि बढिरहेको उल्लेख गर्दै मानव अधिकारका सवालमा पार्टीले कुनै पनि ‘दोहोरो मापदण्ड’ नअपनाउने स्पष्ट पारे । आयोगले उठाएका प्रश्न र सिफारिसलाई गम्भीर रूपमा लिइएको बताउँदै उनले अब प्रतिवेदन कार्यान्वयनलाई राजनीतिक प्रतिबद्धताको विषय बनाइने बताए ।
उनका अनुसार आयोगको प्रतिवेदनले आन्दोलनको प्रारम्भिक चरणमा शान्तिपूर्ण विरोध र अभिव्यक्ति स्वतन्त्रताको माग देखिए पनि पछि योजनाबद्ध रूपमा हिंसात्मक गतिविधि भएको निष्कर्ष निकालेको छ ।
थापाले भदौ २३ गते भएको घटनालाई उल्लेख गर्दै राज्य पक्षबाट बल प्रयोगका क्रममा सीमा उल्लङ्घन भएको र गम्भीर मानव अधिकार हनन भएको बताए । “यस्ता घटना क्षमायोग्य हुँदैनन्, कानुनअनुसार दण्डको भागीदार हुनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा हो,” उनले भने ।
विगतका घटनामा धेरै नागरिकले ज्यान गुमाउनुपरेको स्मरण गर्दै उनले पीडित परिवारप्रति संवेदनशील हुनुपर्ने आवश्यकता औँल्याए । साथै आगामी दिनमा पार्टीले यस्ता विषयलाई व्यवहारमै सम्बोधन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।