वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ का सांसद सुशील कुमार कानुले वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ का स्थानीयवासी तथा पार्टी कार्यकर्तासँग भेटघाट तथा अन्तरक्रिया गरेका छन्।
भेटघाटका क्रममा स्थानीयवासीहरूले खानेपानी, सरसफाइ, पूर्वाधार विकासलगायत विभिन्न जनसरोकारका विषयमा आफ्ना समस्या, गुनासा तथा सुझावहरू राखेका थिए। स्थानीयवासीका कुरा सुनेपछि सांसद कानुले उठाइएका विषयलाई सम्बन्धित निकायसँग समन्वय गरी समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रममा सांसद कानुले जनप्रतिनिधिको मुख्य दायित्व जनताका समस्या सुन्नु र समाधानका लागि पहल गर्नु रहेको उल्लेख गर्दै नागरिकका जायज माग सम्बोधन गर्न आफू निरन्तर सक्रिय रहने बताए।
त्यसैगरी, उनले पार्टीका साथीहरूसँग संगठन सुदृढीकरण, जनताका अपेक्षा, विकास निर्माणका योजना तथा समसामयिक राजनीतिक विषयमा समेत विस्तृत छलफल गरेका थिए। छलफलका क्रममा पार्टी संगठनलाई थप सशक्त बनाउँदै जनतासँगको सम्बन्धलाई अझ प्रभावकारी बनाउने विषयमा समेत विचार आदानप्रदान भएको बताइएको छ।
सांसद कानुले जनतासँगको प्रत्यक्ष संवादले स्थानीय आवश्यकता र समस्याबारे जानकारी प्राप्त हुने भएकाले यस्ता भेटघाट कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए।