×

वीरगञ्ज । विश्व वातावरण दिवसको अवसरमा GHP स्कूलले वातावरण संरक्षणसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले सचेतनामूलक र्‍याली तथा वृक्षारोपण अभियान सञ्चालन गर्दै हरित र स्वच्छ वातावरण निर्माणको सन्देश दिएका छन्।

बिहान आयोजित र्‍यालीमा विद्यार्थीहरूले वातावरण संरक्षण, वृक्षारोपण तथा प्रदूषण नियन्त्रणसम्बन्धी सन्देशसहित समुदायमा जनचेतना फैलाएका थिए। हातमा बिरुवा र सन्देशमूलक प्लेकार्ड बोकेका विद्यार्थीहरूले वातावरण जोगाउन सबैको सक्रिय सहभागिता आवश्यक रहेको सन्देश प्रवाह गरेका थिए।

र्‍यालीपछि विद्यार्थीहरूले विभिन्न प्रजातिका बिरुवा लिएर चिनिमिलस्थित पशुपतिनाथ मन्दिर परिसरमा वृक्षारोपण गरेका थिए। हरियाली प्रवर्द्धन तथा वातावरण संरक्षणको उद्देश्यले गरिएको उक्त अभियानले स्थानीय समुदायमा सकारात्मक सन्देश दिएको विद्यालयले जनाएको छ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले आज रोपिएका बिरुवाले भविष्यका पुस्ताका लागि स्वच्छ, हरित र स्वस्थ वातावरण निर्माणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए। विद्यालयले वातावरण संरक्षणलाई व्यवहारमा उतार्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

Back to top