वीरगञ्ज । विश्व वातावरण दिवसको अवसरमा वीरगञ्ज महानगरपालिका–१४ स्थित गुरुकुल एकेडेमी विद्यालयमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सम्पन्न गरिएको छ।
वातावरण संरक्षण तथा स्वच्छ वातावरणको महत्वलाई उजागर गर्ने उद्देश्यले विद्यालयले वृक्षारोपण, सरसफाइ तथा सचेतनामूलक र्याली आयोजना गरेको हो। वृक्षारोपण तथा सरसफाइ अभियानअन्तर्गत वीरगञ्ज–१४ पिपरास्थित ज्येष्ठ नागरिक पार्क, पशुपति क्षेत्र तथा गुरुकुल एकेडेमीको परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएको विद्यालयले जनाएको छ।
त्यसैगरी, विद्यार्थीहरूको सहभागितामा आयोजित सचेतनामूलक र्यालीका क्रममा बोटबिरुवा हस्तान्तरण कार्यक्रम समेत सम्पन्न गरिएको थियो। कार्यक्रमअन्तर्गत विद्यार्थी तथा शिक्षक–शिक्षिकाहरूले वीरगञ्ज–१४ पिपरास्थित नर्सिङ मठ परिसरमा सरसफाइ अभियान सञ्चालन गरी वातावरण संरक्षणको सन्देश दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयकी प्रधानाध्यापिका श्रीमती तेजिन्द्र कौरले वातावरण संरक्षणको महत्वबारे प्रकाश पार्दै प्रकृति संरक्षण र स्वच्छ वातावरण निर्माणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताइन्। उनले विद्यार्थीहरूलाई वातावरण जोगाउने अभियानमा अग्रसर हुन प्रेरित गर्दै हरियाली प्रवर्द्धनका लागि निरन्तर योगदान दिन आग्रह गरिन्।
कार्यक्रममा सहभागी विद्यार्थी तथा शिक्षक–शिक्षिकाहरूले वातावरण संरक्षणका लागि कम्तीमा पाँचभन्दा बढी बिरुवा रोप्ने तथा तिनको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
उत्साहपूर्ण रूपमा सम्पन्न कार्यक्रमले वातावरण संरक्षणप्रति सकारात्मक सन्देश प्रवाह गर्नुका साथै विद्यार्थीहरूमा प्रकृतिप्रतिको जिम्मेवारीबोध बढाउन महत्वपूर्ण योगदान पुर्याएको विद्यालयले जनाएको छ।