वीरगञ्ज । परराष्ट्र मन्त्री शिशिर खनाल आजदेखि तीन दिने औपचारिक भारत भ्रमणमा जाँदै छन् । भारतीय विदेश मन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा मन्त्री खनाल दिउँसो २:३० बजे नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार जेठ २२ देखि २४ गतेसम्म हुने भ्रमणका क्रममा मन्त्री खनालले भारतीय समकक्षी जयशंकरसँग औपचारिक द्विपक्षीय वार्ता गर्नेछन् । वार्तामा नेपाल–भारतबिचको व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा व्यापार तथा जनता–जनताबिचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा केन्द्रित भएर छलफल हुने जनाइएको छ ।
भ्रमणका क्रममा प्रतिनिधिमण्डल स्तरीय बैठकसमेत आयोजना हुनेछ । साथै, मन्त्री खनालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको मन्त्रालयले उल्लेख गरेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमण दुई देशबिच नियमित रूपमा हुँदै आएको उच्चस्तरीय भ्रमण आदानप्रदानको निरन्तरता हो । भ्रमणले नेपाल र भारतबिचको ऐतिहासिक, स्थायी तथा बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र उचाइमा पुर्याउने विश्वास सरकारको छ । मन्त्री खनाल जेठ २४ गते आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
यसैबिच, सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमण सम्पन्न गरेर आजै स्वदेश फर्किँदै छन् । लामिछानेको भ्रमण सम्पन्न भएकै दिन परराष्ट्र मन्त्री खनाल भारत प्रस्थान गर्न लागेका हुन् ।