एआइको सहयोगबाट तयार पारिएको साङ्केतिक तस्बिर ।
वीरगञ्ज । हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशभर मौसममा परिवर्तन देखिए पनि यसको मुख्य प्रभाव तराई–मधेस क्षेत्रमा तातो लहरका रूपमा पर्ने सम्भावना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तातो लहर चल्ने र तापक्रम उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ । उच्च तापक्रमका कारण जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आज दिउँसो तराई क्षेत्रमा आंशिक बदली रहने भए पनि अत्यधिक गर्मी कायम रहनेछ । यद्यपि तराईका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना पनि रहेको छ । आज राति मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई भू–भागमा आंशिक बदली रहनेछ भने अन्य तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने जनाइएको छ ।
यसैबिच, देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहे पनि तराई–मधेसमा गर्मी नै मुख्य चुनौतीका रूपमा देखिएको छ ।
महाशाखाले तातो लहरबाट बच्न दिउँसोको समयमा सकेसम्म घरभित्र वा चिसो स्थानमा बस्न, अत्यावश्यक कामबाहेक घाममा बाहिर ननिस्कन, हल्का र सुती कपडा लगाउन, टाउको ढाक्ने टोपी वा छाता प्रयोग गर्न तथा प्रशस्त मात्रामा पानी र झोल पदार्थ सेवन गर्न सुझाव दिएको छ । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र दीर्घ रोगीले अतिरिक्त सावधानी अपनाउन आग्रह गरिएको छ ।