वीरगञ्ज । बलिउड अभिनेता आमिर खानले ६१ वर्षको उमेरमा प्रेमिका गौरी स्प्राटसँग आफ्नो विवाहको पुष्टि गरेका छन् । उनको यो तेस्रो विवाह हुनेछ । भारतीय सञ्चारमाध्यमका अनुसार हाल अमेरिकामा रहेका आमिरले भेराइटी इन्डियासँग कुराकानी गर्दै आगामी जुलाई ५ मा विवाह हुने जानकारी दिएका हुन् ।
केही महिना अघिसम्म विवाह आफ्नो प्राथमिकता नभएको बताएका आमिरले अब समयसँगै आफू र गौरी दुवैको सोच परिवर्तन भएको बताएका छन् । उनले भने, “हामी दुवैलाई लाग्छ कि हाम्रो सम्बन्धलाई अर्को तहमा लैजाने समय आएको छ । गौरी र म एकअर्काप्रति गम्भीर छौँ । मेरो हृदयमा म पहिले नै आफूलाई उनको पति मान्छु। अब यसलाई विवाहको नाम दिनु स्वाभाविक कदम हो ।”
२५ वर्ष पुरानो चिनजान
आमिर र गौरी एकअर्कालाई २५ वर्षभन्दा बढी समयदेखि चिन्दै आएका छन् । डेटिङ सुरु गर्नुअघि उनीहरू राम्रा साथी थिए । सन् २०२५ मा आफ्नो ६० औँ जन्मदिनका अवसरमा आमिरले गौरीसँगको सम्बन्ध सार्वजनिक गरेका थिए । त्यसयता गौरी विभिन्न सार्वजनिक कार्यक्रम तथा पारिवारिक अवसरमा आमिरसँगै देखिँदै आएकी छिन् ।
गौरी बेंगलुरुकी सैलुन उद्यमी तथा फेसन व्यवसायी हुन् । उनका बुबा तमिल–ब्रिटिश मूलका र आमा पंजाबी–आयरिश मूलकी हुन् । उनी भारतको स्वतन्त्रता आन्दोलनमा संलग्न ब्रिटिश कम्युनिस्ट फिलिप स्प्रेटकी नातिनी पनि हुन् । गौरीको यसअघि विवाह भइसकेको छ र उनीसँग सात वर्षका छोरा क्विन छन् । पछिल्लो दुई वर्षदेखि उनी छोरा सहित मुम्बईमा बस्दै आएकी छिन् ।
आमिरका अघिल्ला विवाह
आमिरले पहिलो विवाह सन् १९८६ मा फिल्म निर्माता रीना दत्तासँग गरेका थिए । उनीहरूको विवाह १६ वर्षसम्म चलेको थियो । उनीहरूका दुई सन्तान जुनैद खान र इरा खान छन् । सन् २००२ मा उनीहरू कानुनी रूपमा अलग भएका थिए ।
रीना दत्तासँग अलग भएपछि आमिरले निर्देशक किरण रावसँग सन् २००५ मा विवाह गरेका थिए । किरणसँग उनको एक छोरा आजाद छन् । १५ वर्षको वैवाहिक जीवनपछि आमिर र किरणले जुलाई २०२१ मा सम्बन्ध विच्छेदको घोषणा गरेका थिए । यद्यपि उनीहरू छोरालाई सँगै हुर्काउँदै आएका छन् र पानी फाउन्डेसन तथा फिल्म निर्माणजस्ता परियोजनामा सहकार्य जारी राखेका छन् ।
करिअर र पछिल्ला गतिविधि
आमिर खान बलिउडका ‘मिस्टर परफेक्शनिस्ट’का रूपमा परिचित छन् । ‘लगान’, ‘दिल चाहता है’, ‘तारे जमीन पर’, ‘थ्री इडियट्स’, ‘पीके’ र ‘दंगल’ जस्ता सफल फिल्म दिएका उनले सन् २०२२ मा ‘लाल सिंह चड्ढा’ पछि अभिनयबाट केही समय विश्राम लिने घोषणा गरेका थिए । पछिल्ला वर्षहरूमा उनी निर्माण क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।
मे २०२६ मा दिएको एक अन्तर्वार्तामा आमिरले गौरीसँगको सम्बन्धबारे भनेका थिए, “म धेरै भाग्यमानी छु कि मैले गौरीलाई भेट्टाएँ । उनी अद्भुत छिन् र म उनीसँग अपार शान्ति पाउँछु । मेरो अघिल्ला सम्बन्धहरू गहिरा थिए, तर अगाडि बढेनन् । अहिले मलाई लाग्छ, म पूर्ण छु ।”
आगामी जुलाईमा हुने भनिएको विवाहले बलिउडमा पुनः एकपटक आमिर खानको व्यक्तिगत जीवन चर्चाको केन्द्रमा ल्याएको छ ।