वीरगञ्ज । बाराको महागढीमाई नगरपालिकास्थित गञ्जभवानीपुर क्षेत्रमा अवैध घरेलु मदिरा उत्पादन तथा बिक्री–वितरण हुने भट्टीहरू प्रहरी संरक्षणमै सञ्चालन भइरहेको भन्दै स्थानीयवासीले गम्भीर आरोप लगाएका छन् ।
स्थानीय स्रोतका अनुसार प्रहरी र अवैध मदिरा व्यवसायीबिच मासिक ७५ हजार रुपैयाँसम्म आर्थिक लेनदेन हुने गरेको दाबी गरिएको छ । यद्यपि, आरोपहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
स्थानीयका अनुसार गञ्जभवानीपुर प्रहरी चौकीमा प्रहरी वरिष्ठ नायब निरीक्षक (सई) प्रवीण मिश्र आएयता क्षेत्रमा करिब एक दर्जनभन्दा बढी घरेलु मदिरा भट्टी निर्बाध रूपमा सञ्चालन भइरहेका छन् । चौकी इन्चार्जको संरक्षणमा अवैध कारोबार भइरहेको र त्यसका लागि नियमित रूपमा रकम असुली हुने गरेको स्थानीयको आरोप छ ।
स्रोतका अनुसार जेपी साह भनिने एक हवलदारमार्फत घरेलु मदिरा व्यवसायीहरूबाट मासिक रकम सङ्कलन गरिने गरेको दाबी गरिएको छ । त्यस्तै, क्षेत्रका दुई वटा जुवाखालबाट समेत मासिक ३० हजार रुपैयाँ उठाइने गरेको स्थानीयको भनाइ छ । यी दाबीहरूको भने स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
स्थानीयवासीको अनुसार अवैध घरेलु मदिरा उत्पादनका कारण बस्तीमा दुर्गन्ध, वातावरणीय प्रदूषण र सामाजिक विकृति बढ्दै गएको छ । मदिरा पकाउने क्रममा निस्कने धुवाँ र दुर्गन्धले दैनिक जनजीवन प्रभावित भएको तथा युवापुस्तामा कुलत र सामाजिक असुरक्षाको जोखिम बढेको उनीहरूको गुनासो छ ।
यता, गञ्जभवानीपुर प्रहरी चौकीका इन्चार्ज प्रवीण मिश्रसँग आरोपबारे प्रतिक्रिया लिन खोज्दा उनले कुनै प्रतिक्रिया दिन चाहेनन् । जिल्ला प्रहरी कार्यालय बाराका उच्च अधिकारीसँग पनि धारणा लिन प्रयास गरिए पनि समाचार तयार पार्दासम्म कुनै आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन ।
स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन गरी अवैध घरेलु मदिरा उत्पादन तथा त्यसमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न र प्रहरीमाथि लागेको आरोपबारे समेत सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।