फ्रान्सको राष्ट्रिय मौसम विज्ञान निकाय ‘मेटियो–फ्रान्स’ले देशका ७२ विभागहरूमा अत्यधिक गर्मीका कारण बिहीवार मध्याह्नदेखि लागू हुनेगरी ‘रेड अलर्ट’ (उच्च शतर्कता) जारी गरेको छ।
फ्रान्स विगत नौ दिनदेखि तिब्र गर्मीको लहर (हिटवेभ) को चपेटामा परेको छ। मौसम पूर्वानुमान अनुसार, बिहीबारको यो उच्च शतर्कताबाट फ्रान्सको कुल जनसंख्याको तीन–चौथाई भन्दा बढी अर्थात् करिब ५ करोड १० लाख मानिस प्रत्यक्ष प्रभावित हुनेछन्। यसैगरी, ‘रेड’ र ‘अरेन्ज’ दुवै तहका चेतावनीको दायरामा देशभरका करिब ६ करोड ३५ लाख मानिस परेका छन्।
तापक्रममा भएको यो वृद्धिले फ्रान्समा राष्ट्रिय कीर्तिमान समेत तोडेको छ। ‘मेटियो–फ्रान्स’का अनुसार देशभरका ३० वटा सन्दर्भ केन्द्रहरूको दिन र रातको औसत तापक्रम मापन गर्ने ‘राष्ट्रिय थर्मल सूचक’का आधारमा मंगलवार र बुधवार फ्रान्सको इतिहासकै सबैभन्दा तातो दिनका रूपमा दर्ता भएका छन्।
यस पटक राष्ट्रिय थर्मल सूचक ३० डिग्री सेल्सियस पुगेको छ। यसअघि २५ जुलाई २०१९ र ५ अगस्ट २००३ मा तापक्रम २९.४ डिग्री सेल्सियस पुग्दा अघिल्लो कीर्तिमान कायम भएको थियो।
गर्मीको यो लहर तत्कालै कम हुने संकेत देखिएको छैन, जसका कारण जनजीवन प्रभावित भएको छ। तातो हावा र तीव्र घामका कारण सर्वसाधारणहरूले सास्ती खेप्नुपरिरहेको छ। स्थानीय बासिन्दाहरूले गर्मीका साथै तातो हावाको समस्याका कारण दैनिक क्रियाकलापमा कठिनाइ भइरहेको बताएका छन्।