×

फाइल तस्बिर ।

वीरगञ्ज । आज देशभर २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

२३औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मूल समारोह समितिले यस वर्षको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको नारा ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने तय गरेको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटाले जानकारी दिएका छन् ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ साल मङ्सिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रूपमा मनाउन सुरु गरिएको हो । कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पुर्‍याउन प्रत्येक वर्ष धान दिवस मनाइँदै आएको छ ।

आजको दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि लिइन्छ । आजको दिन दही चिउरा खानु संस्कृति नै बनेको छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । धानको उत्पादन बढ्दा कूल गार्हस्थ्य उत्पादनमा वृद्धि हुन्छ । कृषि क्षेत्रबाट प्राप्त कूल गार्हस्थ्य उत्पादनमध्ये धानको योगदान करिब १२ प्रतिशत छ । राष्ट्रिय उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान भने ३३ प्रतिशत छ ।

यद्यपि, यस वर्ष धान दिवस मनाइँदै गर्दा ‘अन्न भण्डार’ मानिने मधेस प्रदेशमा रोपाइँको अवस्था भने निकै सुस्त देखिएको छ ।

कृषि निर्देशनालय, मधेस प्रदेशका अनुसार प्रदेशभर धान रोप्न योग्य ५ लाख ४९ हजार ३५६ दशमलव ३८ हेक्टर क्षेत्रफलमध्ये ३ लाख ८२ हजार ४३३ हेक्टरमा रोपाइँ गर्ने लक्ष्य राखिएको छ । तर असार १५ सम्म केवल १६ हजार ७११ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको छ, जुन लक्ष्यको करिब ४.३६ प्रतिशत हो ।

जिल्लागत रूपमा महोत्तरीमा सबैभन्दा बढी ८.१७ प्रतिशत रोपाइँ भएको छ । धनुषा र बारामा ७/७ प्रतिशत, सिराहा र सप्तरीमा ५/५ प्रतिशत तथा सर्लाहीमा २.५ प्रतिशत मात्र रोपाइँ भएको छ । पर्सा र रौतहटमा भने असार १२ गतेसम्म रोपाइँ सुरु नै हुन सकेको छैन ।

मनसुन कमजोर हुनु, पर्याप्त वर्षा नहुनु, सिँचाइको अभाव तथा रासायनिक मलको कमी नै मुख्य समस्या रहेको कृषि अधिकारीहरू बताउँछन् ।

पर्साका कृषक दीपक पटेलले डिप बोरिङबाट पानी तानेर जसोतसो रोपाइँ गरिएको भए पनि मलको अभाव रहेको बताए । उनले रोपाइँको समयमा सधैँ मल र पानीकै पिरलो हुने गरेको गुनासो गरे । “सरकारले पठायौँ भन्छ, तर किसानको हातमा पुग्दैन,” उनले भने ।

देशभर १५.६ प्रतिशत रोपाइँ

कृषि विभागका अनुसार यस वर्ष असार १५ सम्म देशभर औसत १५.६ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ ।

प्रदेशगत विवरणअनुसार सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ४५.५ प्रतिशत रोपाइँ भएको छ भने कर्णालीमा ३९.१ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

बागमती प्रदेशमा २०.५ प्रतिशत, लुम्बिनीमा २०.८ प्रतिशत, कोसीमा १४.३ प्रतिशत र गण्डकीमा १३.८ प्रतिशत रोपाइँ भएको छ ।

लुम्बिनी प्रदेशमा गत वर्षको तुलनामा करिब १० प्रतिशत कम रोपाइँ भएको कृषि अधिकारीहरूले बताएका छन् । कर्णालीमा पनि गत वर्षको तुलनामा रोपाइँ सुस्त देखिएको छ । अधिकांश क्षेत्रमा खेती वर्षाको भरमा हुने भएकाले मनसुन ढिलो हुँदा रोपाइँ प्रभावित भएको हो ।

मल आपूर्ति विवाद र जलवायु चुनौती

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेस प्रदेशले २,५०० मेट्रिक टन मल वितरण गरिएको जनाएको छ । तर किसानहरूले मागअनुसार मल नपाएको गुनासो गरिरहेका छन्। माग र आपूर्तिबिच असन्तुलन रहेको मन्त्रालयले पनि स्वीकार गरेको छ ।

जलवायु परिवर्तनका कारण वर्षा अनियमित बन्दै जानु, चुरे क्षेत्रबाट बग्ने नदीहरूको जल स्तर घट्नु र सिँचाइ प्रणाली कमजोर हुनुजस्ता कारणले धान खेती थप चुनौतीपूर्ण बनेको कृषि विज्ञहरू बताउँछन् ।

धान नेपालको प्रमुख खाद्यान्न बाली हो । कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा करिब ३३ प्रतिशत योगदान रहँदा धानको मात्रै योगदान करिब १२ प्रतिशत छ ।

धानमा आत्मनिर्भरता हासिल गर्ने सरकारी लक्ष्य रहे पनि मल, बीउ, सिँचाइ र प्रभावकारी वितरण प्रणाली सुधार नगरेसम्म लक्ष्य हासिल गर्न कठिन हुने देखिएको छ ।

धान दिवसको अवसरमा देशभर उत्सवमय वातावरण रहे पनि मधेससहित धेरै ठाउँका किसान भने पर्याप्त वर्षा र मलको प्रतीक्षामा छन् ।

Back to top