एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी असार १६ र १७ गते देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले आवश्यक पूर्व तयारी र उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
प्राधिकरणले आइतबार जारी गरेको सूचनामा मनसुनी गतिविधि थप सक्रिय हुने भएकाले अकस्मात् बाढी, पहिरो, नदी कटान, गेग्रान बहाव तथा सहरी एवं तराई क्षेत्रमा डुबानको जोखिम बढ्ने उल्लेख गरिएको छ । विशेष गरी खोला, नदी तथा खहरेको बाटो हुँदै यात्रा गर्ने, पहिरोको जोखिममा रहेका क्षेत्र तथा नदी किनारका बस्तीका बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले पनि आइतबार साँझ विशेष मनसुन बुलेटिन जारी गर्दै असार १६ मङ्गलवार र १७ गते बुधवार देशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार मधेस प्रदेशका साथै कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने तथा एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान गरिएको छ । साथै पहाडी तथा तराई भू–भागका धेरै स्थान र हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्राधिकरणका अनुसार वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सहरी तथा तराईका होचा भू–भागमा डुबान हुने जोखिम रहेकाले आवश्यक सावधानी अपनाउनुपर्ने देखिएको छ । डुबानको जोखिम रहेका बस्तीका नागरिकलाई आवश्यक परेमा तत्काल सुरक्षित तथा उँचो स्थानमा जान आग्रह गरिएको छ ।
यस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय तह, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन प्राधिकरणले अनुरोध गरेको छ । जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्स्काभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न तथा जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वय गरी पूर्व तयारीका काम अघि बढाउन पनि आग्रह गरिएको छ ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायता केन्द्रका लागि ११४९, नेपाल प्रहरीको १०० तथा सशस्त्र प्रहरी बल नेपालको १११४ हटलाइन नम्बर मोबाइलमा सुरक्षित राखी आवश्यक परेमा तत्काल सम्पर्क गर्न अनुरोध गरिएको छ ।