वीरगञ्ज । भोजपुरी भाषा, कला, सङ्गीत तथा चलचित्र क्षेत्रका स्रष्टा र कलाकारहरूको योगदानको सम्मान गर्ने उद्देश्यले वीरगञ्जमा भोजपुरी सम्मान समारोह सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा वडा अध्यक्ष हीराकाजी महर्जनले भोजपुरी भाषा, कला, सङ्गीत तथा चलचित्रको संरक्षण र प्रवर्द्धनका लागि यस्ता कार्यक्रमले कलाकारलाई थप ऊर्जा, हौसला र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे।
समारोहमा भोजपुरी कला, सङ्गीत तथा चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका विभिन्न कलाकारलाई विभिन्न विधामा सम्मान प्रदान गरिएको थियो।
यस वर्ष सर्वोत्कृष्ट अभिनेताको सम्मान प्रकाश नेपाल, सर्वोत्कृष्ट गायकको सम्मान सुनील पण्डित, सर्वोत्कृष्ट नवोदित गायकको सम्मान सद्दाम हुसेन तथा उदीयमान गायकको सम्मान प्रभात यादवले प्राप्त गरेका छन्। त्यस्तै उत्कृष्ट मञ्च प्रस्तुति सम्मान सुशान्त सिंह ठाकुरीलाई प्रदान गरिएको थियो।
त्यसैगरी भोजपुरी कला तथा चलचित्र क्षेत्रमा दीर्घकालीन योगदानको कदर गर्दै अशोक प्रधान र हरिरत्न तुलाधरलाई आजीवन योगदान सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ। सर्वोत्कृष्ट अभिनेत्रीको सम्मान मेनुका रायमाझीलाई प्रदान गरिएको थियो।
कार्यक्रममा कला, संस्कृति, सामाजिक तथा सञ्चार क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
आयोजक संस्थाले आगामी दिनमा पनि भोजपुरी भाषा, कला, सङ्गीत तथा चलचित्र क्षेत्रको संरक्षण, प्रवर्द्धन तथा कलाकारहरूको सम्मानका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।