वीरगञ्ज । मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल, पर्साको आयोजनामा पर्साको बिन्दवासिनी गाउँपालिका अन्तर्गत रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मधवलका बाल विकासदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा खाजा वितरण गरिएको छ।
मञ्चका जिल्ला अध्यक्ष राजु बैठा धोबीको नेतृत्वमा आयोजित कार्यक्रममा विद्यालयका विद्यार्थीहरूलाई अध्ययनमा सहयोग पुग्ने उद्देश्यले ३०० थान कापी, सिसाकलम, रबर तथा खाजाका लागि बिस्कुट वितरण गरिएको हो।
कार्यक्रममा मञ्चका वरिष्ठ उपाध्यक्ष रिवन अली, उपाध्यक्ष सुशीला खुलाल क्षेत्री, उपाध्यक्ष रमेश सर्राफ, महासचिव धुरुप कनकार, सहसचिव हरिन्द्र चौरसिया, सदस्य श्याम सर्राफ, इम्तियाज अली तथा सदस्य चन्द्रिका प्रसाद यादवको सहभागिता रहेको थियो।
त्यसैगरी, स्थानीय समाजसेवी चिन्टु तिवारी, यमुना बैठा, वडा सदस्य, गाउँका बुद्धिजीवी तथा स्थानीयवासीको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
विद्यालयका प्रधानाध्यापक मुकलेश राउत गद्दीले विद्यार्थीहरूको शैक्षिक विकासमा सहयोग पुग्ने गरी गरिएको सामग्री वितरणप्रति मञ्चलाई धन्यवाद व्यक्त गर्दै यस्ता सामाजिक तथा शैक्षिक सहयोगले विद्यार्थीमा अध्ययनप्रति थप उत्साह बढ्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा मञ्चका पदाधिकारीहरूले शिक्षा नै समाज विकासको आधार भएकाले आर्थिक रूपमा कमजोर तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आवश्यक सहयोग उपलब्ध गराउने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेका छन्।