एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ केजी ८०० ग्राम गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
थाइल्यान्डबाट काठमाडौं आएका भारतको पश्चिम बंगालस्थित कोलकाताका ५७ वर्षीय हरि क्षेत्रीलाई नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले नियन्त्रणमा लिएको हो।
ब्युरोका अनुसार आज बिहान विमानस्थलमा लगेज जाँच गर्ने क्रममा चकलेटको प्याकेटभित्र लुकाइराखिएको २ केजी ८०० ग्राम गाँजा बरामद भएपछि उनलाई पक्राउ गरिएको हो।
लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार क्षेत्री थाई एयरवेजको उडान नम्बर टीजी–३०९ मार्फत थाइल्यान्डको बैंककबाट काठमाडौं आएका थिए। प्रारम्भिक अनुसन्धानबाट बरामद गाँजा थाइल्यान्डबाट नेपाल हुँदै भारतको कोलकाता पुर्याउने योजना रहेको खुलेको ब्युरोले जनाएको छ।
प्रहरीले क्षेत्रीको साथबाट पासपोर्ट र मोबाइल फोन समेत नियन्त्रणमा लिएको छ। पक्राउ परेका उनीविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।