वीरगञ्ज। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र तथा नागरिकले प्राप्त गरेका अधिकारमाथि प्रहार गर्ने दिशामा अघि बढिरहेको आरोप लगाएका छन्।
आइतबार काठमाडौंमा नेकपा उपत्यका प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकार सुशासन र विकासभन्दा संविधानले सुनिश्चित गरेका अधिकार कमजोर पार्ने कार्यमा केन्द्रित भएको दाबी गरे।
दाहालले महिला, दलित, आदिवासी, जनजाति लगायतका समुदायले संविधानमार्फत प्राप्त गरेका अधिकार खोस्ने प्रयास भइरहेको आरोप लगाउँदै यस्तो गतिविधिविरुद्ध सबै सचेत भई खबरदारी गर्नुपर्ने अवस्था आएको बताए।
उनले सरकारले सुकुम्बासी बस्ती हटाउने, विद्यार्थी युनियन तथा ट्रेड युनियनका अधिकार कमजोर बनाउने र सीमासम्बन्धी विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिने काम गरेको टिप्पणी गरे। यी विषयमा आफूले यसअघि नै संसद्मा आवाज उठाइसकेको उल्लेख गर्दै अब सरकारका गतिविधिविरुद्ध थप सशक्त रूपमा बोल्ने तयारी रहेको उनले बताए।
संयोजक दाहालले सरकार गलत बाटोमा अघि बढेकाले त्यसको विरोधमा आन्दोलनमा सक्रिय हुन पार्टीका नेता–कार्यकर्तालाई आह्वान समेत गरेका छन्।