×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाही ले गृहमन्त्री सुधन गुरुङ को कार्यशैलीमाथि प्रश्न उठाउँदै जनताको सुरक्षा र जीवन रक्षामा सरकार गम्भीर हुनुपर्ने बताएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको ज्यान जोगाउन सरकार प्रभावकारी रूपमा अघि नबढेको आरोप लगाए।

उनले गृहमन्त्री सञ्चारमाध्यम र क्यामेरासहित विभिन्न स्थानमा सक्रिय देखिए पनि नागरिकको ज्यान बचाउने विषयमा अपेक्षित भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गरे।

‘गृहमन्त्रीज्यू, तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रिएटर? क्यामेरामा लाइक र भ्युज पाउनका लागि गरिने स्टन्टले जनताको ज्यान बच्दैन,’ भन्दै उनले समयमै आवश्यक उपचार व्यवस्थापन भएको भए गणेश नेपालीको ज्यान बचाउन सकिने दाबी गरे।

शाहीले समयमै एयर एम्बुलेन्सको व्यवस्था गरेर भारतको दिल्लीस्थित विशेषज्ञ अस्पतालमा उपचारका लागि पठाइएको भए अवस्था फरक हुन सक्ने आफ्नो धारणा पनि व्यक्त गरे।

उनले मोटरसाइकल पार्किङसम्बन्धी जरिवानाको तनावपछि गणेश नेपालीले आत्मदाहको प्रयास गरेको उल्लेख गर्दै यस घटनाले राज्यको नीति र नागरिकमैत्री व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको बताए।

‘१० हजार रुपैयाँ जरिवाना तिर्न नसकेर एउटा युवाले मर्नुपर्ने? यो कस्तो न्याय हो?’ भन्दै उनले सरकारले घटनाको निष्पक्ष छानबिन गरी यस्ता घटना दोहोरिन नदिने गरी आवश्यक नीतिगत सुधार गर्नुपर्ने मागसमेत गरे।

Back to top