×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मुख्य सडक निर्माण तथा विस्तारसम्बन्धी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ। सडक डिभिजन कार्यालय र वीरगञ्ज महानगरपालिकाबीच भएको संयुक्त बैठकबाट डीपीआरलाई अन्तिम रूप दिइएको हो।

तयार गरिएको डीपीआरअनुसार मुख्य सडक निर्माण तथा विस्तारका लागि कुल ४ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ लागत अनुमान गरिएको छ। सडक डिभिजन कार्यालयका अनुसार निर्माण कार्य सुरु भएको मितिबाट तीन वर्षभित्र आधुनिक तथा व्यवस्थित सडक निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

परियोजनाअन्तर्गत मुख्य सडकलाई आधुनिक पूर्वाधारयुक्त बनाइनेछ। सडकसँगै विद्युत्, इन्टरनेट, वाइफाइ तथा अन्य सञ्चार सेवाका सबै तार भूमिगत रूपमा व्यवस्थापन गरिने योजना समावेश गरिएको छ। यसले सडकको सौन्दर्य बढाउनुका साथै सेवा प्रवाहलाई थप सुरक्षित र व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र सडक डिभिजन कार्यालयका पदाधिकारीबीच भएको संयुक्त बैठकले डीपीआरलाई अन्तिम स्वीकृतिसहित कार्यान्वयनको प्रक्रियामा अघि बढाउने निर्णय गरेको हो।

परियोजना कार्यान्वयनमा आएपछि वीरगञ्जको मुख्य सडक आधुनिक, सुरक्षित, व्यवस्थित र दीर्घकालीन पूर्वाधारयुक्त बन्ने विश्वास गरिएको छ। यसबाट सवारी व्यवस्थापन सहज हुनुका साथै नगरको समग्र शहरी विकास र सौन्दर्य अभिवृद्धिमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

Back to top