×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएको छ। करिब ५५ प्रतिशत शरीर जलेका नेपालीलाई प्रहरीले उद्धार गरी ‘बर्न आइसियु’मा भर्ना गरेको थियो।

घटनाअघि काठमाडौं महानगर प्रहरी बलका सदस्यसँग ‘ह्वील लक’का विषयमा विवाद भएपछि उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। उनको मृत्यु भएपछि घटनाले सरकारको कार्यशैली र राज्यको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको छ।

यसअघि २०७९ साल माघ १० गते नयाँ बानेश्वरमा प्रेम आचार्यले पनि आत्मदाह गरेका थिए। उक्त घटनापछि पनि राज्यको भूमिका र नागरिकको बढ्दो निराशाबारे बहस भएको थियो। अहिले गणेश नेपालीको मृत्युले त्यही बहसलाई फेरि सतहमा ल्याएको छ।

यस घटनापछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रैबाट सरकारको भूमिकामाथि प्रश्न उठ्न थालेको छ। रास्वपा सांसद समीक्षा बास्कोटाले प्रेम आचार्य र गणेश नेपालीको तस्बिर सामाजिक सञ्जालमा साझा गर्दै ‘निःशब्द’ लेखेकी छन्। उनले आगोले शरीर मात्र होइन, समाजको संवेदनशीलता र राज्यको जिम्मेवारीलाई पनि कठघरामा उभ्याउने टिप्पणी गर्दै यस्तो अवस्था अन्त्य गर्न राज्यले गम्भीर पहल गर्नुपर्ने बताएकी छन्।

रास्वपाका सांसद गणेश कार्कीले पनि घटनालाई अत्यन्त संवेदनशील भन्दै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्। उनले नेपालमा दैनिक औसत १८ जनाले आत्महत्या गर्ने र करिब ८० जनाले आत्महत्याको प्रयास गर्ने तथ्यांक उल्लेख गर्दै यसलाई सामान्य घटनाका रूपमा लिन नहुने बताएका छन्। नागरिकको जीवन जोगाउनु राज्यको पहिलो दायित्व भएको उनको भनाइ छ।

रास्वपाका केन्द्रीय सदस्य हिमेश पन्तले एक नागरिक आफ्नै शरीरमा आगो लगाउने निर्णयसम्म पुग्नु राज्य, समाज र राजनीतिका लागि ठूलो असफलता भएको टिप्पणी गरेका छन्। उनले यस्तो निर्णय क्षणिक नभई लामो समयदेखि थुप्रिएको पीडा, अपमान र असहायताको परिणाम भएको उल्लेख गर्दै कानुनी कठोरताभन्दा अघि राज्यमा मानवीय संवेदनशीलता आवश्यक रहेको बताएका छन्।

सांसद रञ्जु दर्शना पनि घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले उपचार खर्च व्यहोरेर मात्र जिम्मेवारी पूरा नहुने बताएकी छन्। उनले नागरिकलाई यस्तो अवस्थामा पुग्न बाध्य बनाउने कारण खोजी गरी त्यसबाट नीतिगत सुधार गर्नुपर्ने आवश्यकता औंल्याएकी छन्। मनोपरामर्श मात्र पर्याप्त नहुने र नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने सामाजिक–आर्थिक वातावरण निर्माण गर्नुपर्ने उनको धारणा छ।

यस घटनाले पछिल्ला वर्षहरूमा बढ्दै गएको सामाजिक निराशा, मानसिक स्वास्थ्यको चुनौती र राज्यको उत्तरदायित्वबारे पुनः बहस सुरु गराएको छ। विपक्षी दलहरूले सरकार संवैधानिक मूल्यभन्दा शक्ति र संख्याको आडमा अघि बढिरहेको आरोप लगाइरहेका बेला गणेश नेपालीको मृत्युले सरकारमाथि थप नैतिक र राजनीतिक दबाब सिर्जना गरेको विश्लेषण गरिएको छ।

प्रेम आचार्यको आत्मदाहका बेला राज्यको आलोचना गर्दै नागरिकको पीडाप्रति सहानुभूति व्यक्त गर्ने नेताहरू अहिले सत्तामा पुगेपछि मौन देखिएको भन्दै सामाजिक सञ्जालमा समेत व्यापक प्रतिक्रिया आइरहेका छन्। गणेश नेपालीको मृत्युले केवल एउटा परिवारलाई शोकमा डुबाएको मात्र होइन, राज्यको उत्तरदायित्व, सामाजिक सुरक्षा र नागरिकको जीवनप्रतिको संवेदनशीलताबारे गम्भीर प्रश्नसमेत उठाएको छ।

Back to top