×

वीरगञ्ज । मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि काठमाडौंको माइतीघर मण्डलामा शुक्रबार प्रदर्शन गरिएको छ।

मुगुवासी, पठाओ राइडर तथा युवाहरूको सहभागितामा भएको प्रदर्शनमा सहभागीहरूले गणेश नेपालीको मृत्युको निष्पक्ष छानबिन गर्न, घटनामा संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई न्याय दिन सरकारसँग माग गरेका छन्।

प्रदर्शनका क्रममा सहभागीहरूले विभिन्न नाराबाजी गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए। उनीहरूले राज्यको भूमिकाप्रति प्रश्न उठाउँदै घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने मागसमेत गरेका थिए। प्रदर्शनकारीहरूले विभिन्न मागसहितका प्लेकार्ड बोकेका थिए।

माइतीघरमा प्रदर्शन सम्पन्न भएपछि प्रदर्शनकारीहरू वीर अस्पतालतर्फ अघि बढेका थिए। तर, प्रहरीले भद्रकाली क्षेत्रमा उनीहरूको जुलुस रोकेको जनाएको छ।

उल्लेखनीय छ, बिहीबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो। घटनापछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म यसको व्यापक चर्चा भइरहेको छ।

Back to top