वीरगञ्ज । वीरगञ्जबासीको आस्थाको केन्द्र तथा ऐतिहासिक धार्मिक धरोहर श्री गहवामाई मन्दिरको ‘विशाल रथ यात्रा’लाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्न स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सरोकारवाला संस्थाहरूले तयारीलाई तीव्र बनाएका छन्।
आगामी २०८३ साल असार ३२ गते आयोजना हुने रथ यात्राको व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले वीरगञ्ज महानगरपालिकाको सभाहलमा कार्यवाहक नगर प्रमुख इम्तियाज आलम को अध्यक्षतामा उच्चस्तरीय समन्वय बैठक सम्पन्न भएको हो।
बैठकमा वीरगञ्ज महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, नगर प्रहरी, आयोजक समिति तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकले रथ यात्राको रुट, सम्भावित जनसहभागिता र धार्मिक संवेदनशीलतालाई मध्यनजर गर्दै व्यवस्थापनका लागि ६ वटा प्रमुख क्षेत्र निर्धारण गरी सम्बन्धित निकायबीच जिम्मेवारी बाँडफाँड गर्ने निर्णय गरेको छ।
बैठकको निर्णयअनुसार रथ यात्राको समग्र सुरक्षा तथा शान्ति व्यवस्थापन जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र नगर प्रहरीको संयुक्त परिचालनबाट गरिनेछ। लाखौँ श्रद्धालु सहभागी हुने अनुमान गरिएकाले सुरक्षा घेरा, भीड व्यवस्थापन तथा ट्राफिक सञ्चालनलाई विशेष प्राथमिकतामा राखिने जनाइएको छ।
यस्तै, रथ यात्रा अवधिभर यात्रा मार्गलाई स्वच्छ राख्न वीरगञ्ज महानगरपालिकाले आवश्यक जनशक्ति तथा स्रोत–साधन परिचालन गर्नेछ। यस कार्यमा आयोजक समिति, निजी क्षेत्र तथा विभिन्न सामाजिक संघ–संस्थाले पनि सहकार्य गर्ने भएका छन्।
भक्तजनको सुविधालाई ध्यानमा राख्दै यात्रा मार्गका विभिन्न स्थानमा शुद्ध खानेपानी वितरणको व्यवस्था खानेपानी संस्थान, निजी क्षेत्र तथा अन्य सरोकारवाला निकायको समन्वयमा गरिने निर्णय भएको छ।
रथ यात्राका क्रममा विद्युत आपूर्तिमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले नेपाल विद्युत प्राधिकरणलाई विद्युत वितरण प्रणालीको विशेष निगरानी तथा मर्मतसम्भारको जिम्मेवारी दिइएको छ। त्यसैगरी भीडका कारण सञ्चार सेवा प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै नेपाल टेलिकमलगायत दूरसञ्चार सेवा प्रदायकलाई मोबाइल नेटवर्क र सञ्चार सेवा सुदृढ बनाउन निर्देशन दिइएको बैठकले जनाएको छ।
धार्मिक मर्यादा, पवित्रता तथा सांस्कृतिक संवेदनशीलता कायम राख्न रथ यात्रा क्षेत्रको प्रत्यक्ष अनुगमन तथा स्वच्छताको जिम्मेवारी आयोजक समितिले नै सम्हाल्ने निर्णयसमेत गरिएको छ।
बैठकलाई सम्बोधन गर्दै कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले गहवामाईको रथ यात्रा वीरगञ्जको मात्र नभई सम्पूर्ण मधेश प्रदेशकै गौरव र साझा सांस्कृतिक उत्सव भएको उल्लेख गर्दै यसको सफल आयोजनाका लागि महानगरपालिकाले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले तोकिएको जिम्मेवारी समयमै र प्रभावकारी रूपमा सम्पन्न गर्न सम्बन्धित सरकारी तथा गैरसरकारी निकायलाई निर्देशनसमेत दिनुभएको थियो।
यसैबीच, रथ यात्रा व्यवस्थापन समितिले धार्मिक महोत्सवलाई मर्यादित, सुरक्षित र सफल बनाउन सम्पूर्ण वीरगञ्जबासी, उद्योगी, व्यवसायी, सामाजिक संघ–संस्था तथा सञ्चारकर्मीलाई सक्रिय सहयोग र सहभागिताका लागि हार्दिक अपिल गरेको छ।