वीरगञ्ज । नेकपा एमालेले गणेश नेपालीको मृत्युको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यसको जिम्मेवारी सरकारले लिनुपर्ने माग गरेको छ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद भूमिका लिम्बु सुब्बाले गणेश नेपालीको मृत्यु सामान्य घटना नभई राज्यको जिम्मेवारीसँग जोडिएको विषय भएको बताइन्।
‘यसको जिम्मेवारी सरकारले लिनुपर्छ। गणेश नेपालीको मृत्यु केवल एउटा नेपालीको मृत्यु मात्रै होइन,’ भन्दै उनले सरकारले घटनालाई गम्भीरतापूर्वक लिनुपर्ने धारणा राखिन्।
सांसद सुब्बाले राज्यले लागू गर्दै आएको ट्राफिक जरिवाना प्रणाली उचित छ वा छैन भन्ने विषयमा पनि पुनर्विचार गर्न आग्रह गर्दै गणेश नेपालीको घटनाबाट सरकार सचेत हुनुपर्ने बताइन्।
उनले उक्त घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सरकारसँग मागसमेत गरिन्।