वीरगञ्ज । वीरगञ्ज महानगरपालिकास्थित जीएचपी स्कूलमा विद्यार्थीहरूको अद्वितीय प्रतिभा, रचनात्मक सोच र सामूहिक सहकार्यको उत्कृष्ट प्रदर्शन गर्दै कक्षाकोठा सजावट प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालयले आयोजना गरेको प्रतियोगितामा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै आफ्ना कक्षाकोठालाई आकर्षक, कलात्मक र सन्देशमूलक ढंगले सजाएका थिए। विद्यार्थीहरूले आफ्नो कल्पनाशक्ति, मेहनत र सिर्जनशीलतालाई प्रयोग गरी कक्षाकोठालाई नयाँ स्वरूप दिएका कारण विद्यालय परिसर नै कला, रंग र नवीन सोचको उत्सवजस्तै बनेको थियो।
प्रतियोगितामा सजाइएका उत्कृष्ट कक्षाकोठामध्ये सर्वोत्कृष्ट छनोट गर्ने जिम्मेवारी निष्पक्ष र दक्ष निर्णायक मण्डलले निर्वाह गरेको थियो। निर्णायक टोलीको नेतृत्व वीरगञ्ज महानगरपालिकाकी सामाजिक अभियन्ता नीलम सिंह ले गर्नुभएको थियो। मुख्य निर्णायकका रूपमा उहाँले विद्यार्थीहरूले प्रस्तुत गरेका डिजाइनमा सामाजिक चेतना, समावेशीता तथा दिगोपन (सस्टेनेबिलिटी) जस्ता विषयवस्तुको समावेशलाई विशेष प्राथमिकता दिँदै सूक्ष्म मूल्याङ्कन गर्नुभएको विद्यालयले जनाएको छ।
त्यसैगरी विद्यालयका कला शिक्षक रोशन गुप्ता ले अर्का निर्णायकका रूपमा भूमिका निर्वाह गर्दै कलात्मक प्रस्तुति, रंग संयोजन, सिर्जनात्मकता तथा सजावटको प्राविधिक पक्षलाई आधार मानेर प्रत्येक कक्षाकोठाको विस्तृत मूल्याङ्कन गर्नुभएको थियो।
विद्यालय प्रशासनले प्रतियोगितामा उत्साहजनक सहभागिता जनाउने सम्पूर्ण विद्यार्थी, विभिन्न कक्षाका सहभागी टोली तथा उनीहरूलाई निरन्तर मार्गदर्शन गर्ने वर्ग शिक्षकहरूलाई हार्दिक बधाई तथा धन्यवाद व्यक्त गरेको छ।
विद्यालयका अनुसार यस्ता सिर्जनात्मक गतिविधिले विद्यार्थीहरूमा नेतृत्व क्षमता, सामूहिक सहकार्य, सिर्जनशील सोच तथा व्यवहारिक सिकाइलाई थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ। प्रतियोगिताका क्रममा कैद गरिएका केही आकर्षक तथा प्रेरणादायी झलकहरू विद्यालयले सार्वजनिक गरेको जनाएको छ।