बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले करिब दुई वर्षपछि पहिलोपटक स्वदेश फर्कने योजना सार्वजनिक गरेकी छन् । भारतमा बसिरहेकी हसिनाले आफू यसवर्षको डिसेम्बरमा बंगलादेश फर्केर अदालतसमक्ष आत्मसमर्पण गर्ने बताएकी छन् ।
पक्राउ पर्ने वा ज्यानै जाने जोखिम भए पनि आफू आफ्नै देश फर्कने निर्णयबाट पछि नहट्ने उनको भनाइ छ ।
“जब म फर्किन्छु, मलाई पक्राउ गर्न सकिन्छ । मेरो हत्या पनि हुन सक्छ । तर, म फर्कनेछु,” समाचार संस्था रोयटर्ससँगको अन्तर्वार्तामा ७८ वर्षीया हसिनाले भनिन्, “मेरो पार्टीका नेता–कार्यकर्तामाथि लगातार कारबाही भइरहेको छ । यदि, मर्नु नै छ भने, आफ्नै देशको माटोमा मर्न चाहन्छु, जहाँ मेरा आमाबुबा समाधिस्थ छन् ।”
अवामी लिगका नेताहरूले पनि आत्मसमर्पण गर्ने
हसिनाले आफू एक्लै नफर्कने पनि बताएकी छन् । उनले भारत तथा अन्य देशमा रहेका अवामी लिगका धेरै वरिष्ठ नेताहरू पनि बंगलादेश फर्केर अदालतमा आत्मसमर्पण गर्ने बताइन् । उनीहरूमध्ये पूर्वगृहमन्त्री असदुज्जामान खान कमाल पनि रहेका छन् ।
उनले बंगलादेश फर्कने निर्णय पूर्णरूपमा आफ्नो व्यक्तिगत निर्णय भएको स्पष्ट पार्दै यस विषयमा भारत वा अन्य कुनै देशको सरकारसँग कुनै परामर्श नगरेको बताइन् । लोकतन्त्र, निर्वाचन र न्यायजस्ता विषयमा कुनै पनि प्रकारको गोप्य सम्झौता सम्भव नरहेको उनको भनाइ छ ।
भारतमै बसेर पार्टी सञ्चालन
भारतमा निर्वासनमा रहे पनि हसिना अझै अवामी लिगको गतिविधिमा सक्रिय छिन् । उनले अनलाइन बैठकमार्फत हालसम्म बंगलादेशका ३०० संसदीय निर्वाचन क्षेत्रमध्ये १२५ क्षेत्रका नेता तथा कार्यकर्तासँग संवाद गरिसकेको जानकारी दिइन् । पार्टीलाई पुनर्गठन र सुदृढ बनाउने काम जारी रहेको उनले बताइन् ।
अदालतमा सत्य बाहिर आउने
हसिनाले आफूविरुद्ध दायर गरिएका सबै मुद्दा राजनीतिक प्रेरित भएको दाबी गरेकी छन् । अदालतमा सुनुवाइ सुरु भएपछि आफूमाथि लगाइएका आरोपको वास्तविकता जनतासामु स्पष्ट हुने उनको भनाइ छ ।
आफ्नो लामो राजनीतिक यात्राको समीक्षा गर्दै उनले कुनै पनि सरकार पूर्ण रूपमा त्रुटिरहित नहुने उल्लेख गरिन् । उनले भनिन्, “यदि, हाम्रो सरकारले कुनै गल्ती गरेको छ भने त्यसको फैसला जनताले गर्नेछन् । म त्यो निर्णय जनतामै छोड्छु ।”
हसिनाको नेतृत्वमा बंगलादेशले उल्लेखनीय आर्थिक विकास गरेको भए पनि विपक्षी दलमाथि दमन गरेको तथा लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाएको आरोप उनीमाथि लाग्दै आएको छ ।
भारत–बंगलादेश सम्बन्धमा पनि प्रभाव
शेख हसिनाको घोषणाले भारत–बंगलादेश सम्बन्धमा पनि प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ । बंगलादेशको अन्तरिम सरकारले यसअघि भारतसँग हसिनाको सुपुर्दगी माग गरिसकेको थियो ।
भारतले उक्त अनुरोधमाथि विचार गरिरहेको जनाएको थियो । यस विषयमा हसिनाले भनिन्, “उनीहरूले मलाई फिर्ता पठाउन भारतलाई बारम्बार पत्र पठाइरहेका छन् । अब त्यसको आवश्यकता छैन, म आफैँ फर्किंदै छु ।”
यद्यपि, उनको अभिव्यक्तिप्रति भारतको विदेश मन्त्रालय र बंगलादेश सरकार दुवैले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।
शेख हसिना जनवरी २०२४ मा लगातार चौथो कार्यकालका लागि बंगलादेशकी प्रधानमन्त्री बनेकी थिइन् । तर, त्यही वर्ष सरकारी सेवामा आरक्षण (कोटा) प्रणालीविरुद्ध सुरु भएको विद्यार्थी आन्दोलन विस्तारै सरकारविरोधी आन्दोलनमा परिणत भएको थियो ।
स्थिति तनावपूर्ण बन्दै जाँदा देशका विभिन्न स्थानमा हिंसा भड्कियो । सुरक्षा बलको कारबाहीमा ठूलो संख्यामा मानिसहरूको ज्यान गयो । संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार उक्त हिंसामा करिब एक हजार ४०० जनाको मृत्यु भएको थियो ।
विपक्षी दल तथा मानवअधिकारवादी संस्थाहरूले सरकारले प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गरेको आरोप लगाउँदै आएका छन् । हसिनाले भने ती आरोपहरू निरन्तर अस्वीकार गर्दै आएकी छन् ।
बढ्दो विरोध प्रदर्शन र सुरक्षा जोखिमबीच अगस्ट २०२४ मा शेख हसिना बंगलादेश छोडेर भारत पुगेकी थिइन् । त्यसपछि बंगलादेशको अन्तरिम सरकारले उनीविरुद्ध विभिन्न मुद्दा दर्ता गर्यो ।
गत वर्ष नोभेम्बरमा युद्ध अपराधसम्बन्धी विशेष अदालतले विद्यार्थी आन्दोलनका क्रममा भएको हिंसासँग सम्बन्धित एक मुद्दामा उनको अनुपस्थितिमै मृत्युदण्डको फैसला सुनाएको थियो । हसिनाले उक्त फैसलालाई राजनीतिक प्रतिशोधको परिणाम भएको दाबी गर्दै आएकी छन् ।