वीरगञ्ज । नारायणगढ–पथलैया–वीरगञ्ज सडकखण्डमा राखिएका किलोमिटर तथा दूरी जनाउने सूचक बोर्डहरू च्यातिएको र क्षतिग्रस्त अवस्थामा भेटिएपछि यात्रु तथा सवारी चालकहरू समस्यामा परेका छन्। सडकका विभिन्न स्थानमा रहेका सूचक बोर्डहरू तोडफोड तथा हराएपछि गन्तव्यको दूरी र स्थानबारे जानकारी लिन कठिनाइ भइरहेको स्थानीयले बताएका छन्।
वीरगञ्ज–पथलैया सडकखण्ड दैनिक हजारौँ सवारीसाधन र यात्रुको आवतजावत हुने व्यस्त मार्गमध्ये एक हो। तर, हाल सडकका अधिकांश दूरी सूचक बोर्डहरू च्यातिएको, भाँचिएको वा हराएको अवस्थामा रहेको स्थानीय तथा सडक प्रयोगकर्ताहरूको गुनासो छ।
स्थानीयका अनुसार सूचक बोर्डको अभावले विशेष गरी पहिलो पटक यात्रा गर्ने यात्रु तथा टाढाबाट आउने सवारी चालकलाई गन्तव्य पहिचान गर्न र बाँकी दूरीको अनुमान गर्न कठिनाइ भइरहेको छ। रातिको समयमा पर्याप्त सूचना नहुँदा समस्या झन् बढ्ने गरेको उनीहरूको भनाइ छ।
सडक प्रयोगकर्ताहरूले सूचक बोर्ड सडक सुरक्षाको महत्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै सम्बन्धित निकाय, विशेष गरी सडक विभागलाई तत्काल क्षतिग्रस्त बोर्डहरूको मर्मत तथा नयाँ बोर्ड प्रतिस्थापन गर्न आग्रह गरेका छन्।
स्थानीयले समयमै मर्मत तथा व्यवस्थापन नगरिए सडक प्रयोगकर्ताले थप सास्ती बेहोर्नुपर्ने भन्दै सडक सुरक्षालाई ध्यानमा राखी सम्बन्धित निकायले शीघ्र पहल गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।