×

वीरगञ्ज । राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार दसैँसम्म मात्र टिक्ने दाबी गरेका छन्।

झापाबाट काठमाडौं आएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रमा सार्वजनिक अभिव्यक्ति दिन नपाइने भन्दै प्रहरीले नियन्त्रणमा लिएर निवाससम्म पुर्‍याएपछि प्रसाईँले आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै यस्तो टिप्पणी गरेका हुन्।

पत्रकार सम्मेलनमा बोल्दै उनले वर्तमान सरकार जुन प्रक्रियाबाट सत्तामा आएको हो, अन्ततः त्यही प्रक्रियाबाट बाहिरिने दाबी गरे।

प्रसाईँले आफूलाई राज्यले नियोजित रूपमा धरपकड र फसाउने प्रयास गरिरहेको आरोप पनि लगाए। आफूलाई "भँडुवा"को संज्ञा दिँदै सरकारले विभिन्न गतिविधिमार्फत दबाब सिर्जना गर्न खोजेको भए पनि त्यस्तो प्रयास सफल नहुने उनको भनाइ थियो।

उनले वर्तमान व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नागरिकहरू निराश बन्न पुगेको दाबी गरे। गणेश नेपाली आत्मदाह प्रकरणप्रति संकेत गर्दै उनले यो व्यवस्थाले नागरिकलाई आफैँमाथि पेट्रोल खन्याएर ज्यान दिनुपर्ने अवस्थासम्म पुर्‍याएको टिप्पणी गरे।

प्रसाईँले आफूहरूको माग केवल नागरिकलाई सम्मानपूर्वक रोजगारी र व्यवसाय गरेर बाँच्न सक्ने वातावरण निर्माण गरिदिनु रहेको बताए।

Back to top