×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–७ अन्तर्गत रेल्वे रोडस्थित नेपाल जिम क्लबको पश्चिमतर्फ जाने सार्वजनिक बाटो करिब दुई महिनादेखि बन्द भएपछि स्थानीय बासिन्दा सास्ती भोग्न बाध्य भएका छन्। एक निजी घर निर्माणका क्रममा सार्वजनिक बाटो अवरुद्ध गरिएको भन्दै स्थानीयवासीले तत्काल बाटो खुलाउन र सम्बन्धित निकायले हस्तक्षेप गर्न माग गरेका छन्।

स्थानीयका अनुसार नेपाल तथा भारतलगायत विभिन्न देशमा व्यापार गर्दै आएका व्यापारी निरञ्जन चौधरीले आफ्नो बंगलो निर्माणका क्रममा सार्वजनिक बाटो बन्द गराएका हुन्। स्थानीयले वीरगञ्ज महानगरपालिकाका केही कर्मचारी, वडा नं. ७ का जनप्रतिनिधि तथा प्रभावशाली व्यक्तिहरूको पहुँचका कारण सार्वजनिक बाटो लामो समयदेखि बन्द रहेको आरोप लगाएका छन्। केही स्थानीयले यस प्रकरणमा आर्थिक चलखेल भएको आशंका पनि व्यक्त गरेका छन्। यद्यपि, यी आरोपहरू स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन्।

स्थानीयका अनुसार निर्माण कार्यका क्रममा ठेकेदार कम्पनीले डोजर प्रयोग गरी सडक र नाला भत्काएपछि बाटो भासिएको थियो। त्यसपछि स्थानीयको विरोधपछि नगर प्रहरीको रोहबरमा ३५ दिनभित्र सडकलाई पूर्ववत् अवस्थामा पुनःनिर्माण गर्ने सहमति भएको थियो। सम्भावित दुर्घटना रोक्न अस्थायी रूपमा बाटो बन्द गरिएको बताइएको थियो।

तर, सहमति भएको ७० दिनभन्दा बढी समय बितिसक्दा पनि सडक पुनः सञ्चालनमा ल्याउन कुनै ठोस काम नभएको स्थानीयको गुनासो छ। उनीहरूका अनुसार बाटो बन्द हुँदा नालाको निकाससमेत अवरुद्ध भएको छ, जसका कारण सामान्य वर्षामै टोल डुबानमा पर्न थालेको छ। पानी घर–घरमा पस्न थालेपछि स्थानीयको जनजीवन थप प्रभावित भएको छ।

शुक्रबार राति परेको सामान्य वर्षापछि टोल डुबानमा परेपछि शनिबार बिहान स्थानीयवासीले विरोध जनाएका थिए। निर्माणधनीसँग पटक–पटक सम्पर्क गर्दा पनि उपस्थित नभएपछि उनीहरूले वीरगञ्ज महानगरपालिकाका कार्यवाहक मेयर इतेयाज आलम र वडा नं. ७ का वडा अध्यक्ष हिराकाजीसँग तत्काल हस्तक्षेप गर्न माग गरेका थिए।

विवाद बढेपछि महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सर्फुदिन मियाँ, नगर प्रहरी प्रमुख हरि भुसाल तथा वडा अध्यक्ष हिराकाजी निर्माणस्थल पुगेका थिए। तर सार्वजनिक बाटो कहिलेदेखि सञ्चालनमा आउने भन्ने विषयमा कुनै स्पष्ट निर्णय हुन नसकेको स्थानीयले बताएका छन्।

स्थानीयवासीले सार्वजनिक बाटो महिनौँसम्म अवरुद्ध रहँदा पनि सम्बन्धित निकायले प्रभावकारी पहल नगरेको भन्दै महानगरपालिकाको भूमिकाप्रति प्रश्न उठाएका छन्। उनीहरूले सार्वजनिक सम्पत्तिमाथिको अतिक्रमण तत्काल अन्त्य गरी बाटो र नाला पूर्ववत् सञ्चालनमा ल्याउन तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन माग गरेका छन्।

यस विषयमा निर्माणधनी निरञ्जन चौधरी तथा वीरगञ्ज महानगरपालिकाको आधिकारिक धारणा सार्वजनिक हुन बाँकी रहेको छ।

Back to top