संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) र प्यानासोनिक होल्डिङ्स कर्पोरेसनले नेपालका जाजरकोट र रौतहट जिल्लामा जलवायुजन्य विपद्को जोखिममा रहेका समुदायका लागि मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढ गर्न साझेदारी गरेका छन् ।
साझेदारीअन्तर्गत कर्णाली प्रदेशको जाजरकोट र मधेश प्रदेशको रौतहटका स्वास्थ्य संस्था तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई १९८ थान सौर्य ऊर्जाबाट सञ्चालन हुने प्यानासोनिक लालटिन उपलब्ध गराइने भएको छ ।
जाजरकोटमा भूकम्प प्रभावित र रौतहटका बाढी प्रभावित बस्तीमा यूएनएफपीएका कार्यक्रम सञ्चालन भइरहेकाले शौर्य लाल्टिन पनि अहिले ती जिल्लामै वितरण गर्ने निर्णय गरेको यूएनएफपीए नेपालकी सञ्चार विश्लेषक अदिति अर्यालले जानकारी दिइन् ।
यूएनएफपीएका अनुसार यो पहलले विद्युत् आपूर्ति अवरुद्ध हुने वा विपद्को समयमा पनि अत्यावश्यक स्वास्थ्य सेवा सञ्चालन गर्न सहयोग पुर्याउनेछ ।
अनलाइन माध्यमबाट हस्ताक्षर
सम्झौतामा काठमाडौं र टोकियोमा रहेका प्यानासोनिक कम्पनीका प्रतिनिधिहरूबीच अनलाइन माध्यमबाट हस्ताक्षर भएको छ ।
यो पहल जापान सरकारको आर्थिक सहयोगमा यूएनएफपीएले सञ्चालन गरिरहेको ‘नेपालमा मातृ तथा बाल स्वास्थ्य सेवा र अनुकूलन क्षमतामा सुधार’ परियोजनाको पूरक कार्यक्रमका रूपमा अघि बढाइएको जनाइएको छ । परियोजनाले पहिरो, अत्यधिक चिसो लगायत जलवायुजन्य जोखिम बढी रहेका क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच र क्षमता अभिवृद्धिमा केन्द्रित छ ।
यूएनएफपीए नेपालका प्रतिनिधि श्रीराम हरिदासले दुर्गम तथा विपद्को जोखिममा रहेका क्षेत्रमा स्वास्थ्य सेवा निरन्तरताका लागि शौर्य लालटिन उपयोगी हुने बताए । उनका अनुसार यसले विद्युत् आपूर्ति अवरुद्ध भएका बेला पनि स्वास्थ्यकर्मीलाई सुरक्षित मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुग्नेछ ।
प्यानासोनिक होल्डिङ्स कर्पोरेसनकी अकियो दोमोतोले कम्पनीको ‘लाइट अप द फ्युचर’ पहलअन्तर्गत विद्युत् पहुँचबाट वञ्चित समुदायमा दिगो विकास, स्वास्थ्य र शिक्षामा सहयोग गर्दै आएको बताइन् । यूएनएफपीएसँगको सहकार्यमार्फत नेपालका स्वास्थ्य संस्थामा भरपर्दो उज्यालो उपलब्ध गराई स्थानीय समुदायको जलवायु उत्थानशीलता बढाउने उद्देश्य रहेको उनको भनाइ छ ।
महिला तथा नवजात शिशु लाभान्वित हुने विश्वास
यूएनएफपीएका अनुसार वितरण गरिने शौर्य लालटिनबाट वार्षिक करिब ४७ हजार ८९८ महिला तथा नवजात शिशु लाभान्वित हुने अपेक्षा गरिएको छ । लालटिनले स्वास्थ्य संस्थामा सेवा प्रवाह सहज बनाउनाका साथै रात्रिकालीन बिरामी प्रेषण र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको गृहभेट सेवामा पनि सहयोग गर्ने जनाइएको छ ।
यूएनएफपीएले हालसम्म उक्त परियोजनाअन्तर्गत २० स्वास्थ्य संस्थाको जलवायु जोखिम मूल्यांकन सम्पन्न गरेको, १० स्वास्थ्य संस्थाको जलवायु उत्थानशीलता अभिवृद्धिका लागि स्तरोन्नति गरेको तथा नौ स्थानीय तहमा जलवायु अनुकूलनसम्बन्धी योजना निर्माणमा सहयोग गरेको जनाएको छ ।
सन् २०२२ देखि यूएनएफपीए र प्यानासोनिकले अफ्रिका र एसियाका विद्युत् पहुँचबाट वञ्चित समुदायमा सौर्य लालटिन वितरणका लागि सहकार्य गर्दै आएका छन् । प्यानासोनिकले सन् २०१३ देखि सञ्चालन गर्दै आएको ‘लाइट अप द फ्युचर’ कार्यक्रमअन्तर्गत हालसम्म करिब ३६ देशमा एक लाख ३० हजारभन्दा बढी सौर्य लालटिन वितरण गरिसकेको जनाएको छ ।
‘नेपालमा मातृ तथा बाल स्वास्थ्य सेवा र अनुकूलन क्षमतामा सुधार’ परियोजना जापान सरकारको आर्थिक सहयोगमा यूएनएफपीए नेपालले जाजरकोट र रौतहट जिल्लामा कार्यान्वयन गरिरहेको छ ।
यूएनएफपीए संयुक्त राष्ट्रसंघको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी एजेन्सी हो, जसले सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य तथा युवाको सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएको छ ।