वीरगञ्ज। श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत मानवसेवा आश्रमलाई विभिन्न खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग प्रदान गरेको छ।
समितिले आश्रममा आश्रित ज्येष्ठ नागरिक तथा असहाय व्यक्तिहरूको दैनिक जीवन सहज बनाउन पिठो, तेल, नुन, तरकारीलगायत आवश्यक खाद्यान्न सामग्री हस्तान्तरण गरेको जनाएको छ।
समितिका सचिव लक्ष्मीनारायण गुप्ता (पप्पु गुप्ता) का अनुसार धार्मिक तथा सामाजिक सेवालाई सँगसँगै अघि बढाउने उद्देश्यअनुसार आश्रमलाई आवश्यक सामग्री सहयोग गरिएको हो। आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए।
सहयोग प्राप्त गरेपछि मानवसेवा आश्रमले श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिप्रति आभार व्यक्त गरेको छ। आश्रमले उक्त सहयोगले आश्रित आमाबुवा तथा असहाय व्यक्तिहरूको सेवा, संरक्षण र दैनिक व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
आश्रमका अनुसार समाजसेवाप्रतिको यस्तो संवेदनशीलता, उदारता र मानवीय भावनाले अन्य व्यक्ति तथा संघसंस्थालाई पनि सामाजिक सेवामा सक्रिय हुन प्रेरणा मिल्नेछ।
आश्रमले श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिको उत्तरोत्तर प्रगति, सफलता तथा श्री गहवामाईको असीम कृपा सधैं रहिरहोस् भन्ने शुभकामना समेत व्यक्त गरेको छ।