×

रौतहट। रौतहटको सदरमुकाम गौरबाट पुरेनवातर्फ जाने सडकखण्डस्थित हनुमान मन्दिर नजिक रगतले लतपत भएको शंकास्पद बोरा फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।

सोमबार उक्त बोरा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी टोली घटनास्थलमा पुगेर सुरक्षा घेरा कायम गर्दै आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

प्रहरीका अनुसार बोराभित्र के रहेको भन्ने विषय तत्काल खुल्न सकेको छैन। घटनास्थलमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी बोरा खोल्ने तथा त्यसपछि थप अनुसन्धान गर्ने तयारी भइरहेको छ।

घटनाको प्रकृति, कारण तथा बोराभित्र रहेको वस्तुबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। प्रहरीले आधिकारिक विवरण सार्वजनिक नभएसम्म कुनै पनि अफवाहमा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Back to top