एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
सिरहा । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ।
बिहीबार लहान नगरपालिका–३ स्थित हस्पिटल चोकमा लागूऔषध नियन्त्रण ब्यूरोको विशेष टोलीले लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा रहेका व्यक्तिहरूलाई पक्राउ गर्ने क्रममा उनीहरूको प्रतिरोध भएपछि गोली चलाउनुपरेको प्रहरीले जनाएको छ।
प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन्। घाइते हुनेमा एक नेपाली र एक भारतीय नागरिक रहेका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार, काठमाडौँको कोटेश्वरस्थित लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको विशेष टोलीले लागूऔषध कारोबारीहरूलाई पक्राउ गर्ने अपरेसनका क्रममा प्रतिरोध भएपछि आत्मरक्षाका लागि गोली चलाएको हो।
लागूऔषध नियन्त्रण ब्यूरोका एक अधिकारीका अनुसार, घटनामा घाइते भएका व्यक्तिहरूको पहिचान खुलाउने तथा घटनाको विस्तृत अनुसन्धान गर्ने कार्य जारी रहेको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।