वीरगञ्ज। रौतहटको गुजरा नगरपालिका–५, हरिहरपुरमा खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ। शुक्रबार बिहान करिब १०:३० बजे भएको घटनामा स्थानीय ४५ वर्षीया रेनुदेवी जयसवालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बाराको करैयामाई गाउँपालिका–८, इटहर बेलाही स्थायी घर भई हाल गुजरा–५ हरिहरपुरमा बस्दै आएका ३५ वर्षीय उपेन्द्र साह कलवारले धारिलो हतियार खुकुरी प्रहार गरी रेनुदेवी जयसवालमाथि आक्रमण गरेका थिए। घाँटीमा खुकुरी प्रहार हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो।
घटनापछि आक्रोशित स्थानीयवासीले आक्रमणकारी उपेन्द्र साह कलवारलाई नियन्त्रणमा लिई कुटपिट गरेका थिए। त्यसपछि उनलाई प्रहरीको जिम्मा लगाइएको थियो।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त गौतमका अनुसार स्थानीयको कुटाइबाट गम्भीर घाइते भएका उपेन्द्रलाई चन्द्रपुर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको छ। उनका अनुसार आक्रमणकारीको अवस्था गम्भीर रहेको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ **इलाका प्रहरी कार्यालय लक्ष्मिनियाँ (विजयपुर) बाट प्रहरी निरीक्षक राजेश कुमार खत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको डीएसपी गौतमले बताए। प्रहरीले घटनाको कारण खुल्न बाँकी रहेको जनाउँदै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।