वीरगञ्ज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री बब्लु गुप्तालाई ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिमाना गरेको छ।
सिरहा निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद गुप्ता गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर यात्रा गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि ट्राफिक प्रहरीले कारबाही गरेको हो।
भिडियो सार्वजनिक भएसँगै सांसद गुप्ताको व्यवहारको सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। सर्वसाधारणले सडक सुरक्षासम्बन्धी नियमको पालना गर्नुपर्ने जनप्रतिनिधिबाटै यस्तो गतिविधि हुनु अनुचित भएको टिप्पणी गरेका थिए।
आलोचना बढेपछि सांसद गुप्ताले सामाजिक सञ्जालमार्फत आफ्नो व्यवहारप्रति दुःख व्यक्त गर्दै सार्वजनिक रूपमा क्षमायाचना गरेका छन्।
उनले बाल्यकाल बिताएको ठाउँमा पुग्दा पुराना सम्झनाहरू ताजा भएको र सोही उत्साहका क्रममा रमाइलो गर्ने उद्देश्यले मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको बताए।
“त्यही खुसी र रमाइलोको क्षणमा मजाक–मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा मैले ट्राफिक नियम उल्लङ्घन गरेको रहेछु भन्ने कुरा मैले आफैँ महसुस गरेको छु,” उनले सामाजिक सञ्जालमा लेखेका छन्।
आफूबाट गल्ती भएको स्वीकार गर्दै उनले आगामी दिनमा यस्ता गतिविधि नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
“अब यही जोस र ऊर्जा देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। मबाट जानी वा नजानी कुनै गल्ती भएको भए क्षमा माग्दछु,” उनले उल्लेख गरेका छन्।
ट्राफिक प्रहरीले भने सडक सुरक्षासम्बन्धी नियम सबै नागरिकका लागि समान रूपमा लागू हुने भन्दै नियम उल्लङ्घन गर्ने जोसुकैलाई कानुनअनुसार कारबाही गरिने जनाएको छ।