एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज। सशस्त्र प्रहरी बल, नेपालले पर्साका विभिन्न नाकाबाट भन्सार छली गरी नेपाल भित्र्याइएका करिब २१ लाख रुपैयाँ बराबरका अवैध सामान तथा सवारीसाधन बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१७, अलौस्थित सीमा सुरक्षा गुल्मबाट खटिएको गस्ती टोलीले भारतबाट अवैध रूपमा भन्सार छली गरी प्र.२–०३–००१ स ६०९७ नम्बरको ई–लोडरमा ल्याइँदै गरेको १२ लाख ७५ हजार रुपैयाँ बराबरको ८ कार्टुन भिटामिन औषधि बरामद गरेको छ।
त्यसैगरी ना २६ प २०१८ नम्बरको मोटरसाइकलमा ल्याइँदै गरेको ३१ हजार ९१५ रुपैयाँ बराबरको किराना सामान पनि नियन्त्रणमा लिइएको छ। बरामद गरिएको ई–लोडरको अनुमानित मूल्य ४ लाख रुपैयाँ र मोटरसाइकलको मूल्य २ लाख रुपैयाँ रहेको छ। यसरी सवारीसाधनसहित १९ लाख ६ हजार ९१५ रुपैयाँ बराबरको सामान बरामद गरी आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
यस्तै, वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार मेनगेटमा खटिएको चेकपोस्ट टोलीले भारतबाट नेपालतर्फ ल्याइँदै गरेको १ लाख ४५ हजार ४ सय रुपैयाँ बराबरको बिल–विजक नभएको ESSDEE ब्रान्डका कपडा, स्टेशनरी तथा हार्मोनियम बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।
त्यसैगरी, बिन्दवासिनी गाउँपालिका–३, झौवागुठीस्थित बीओपी अमरपट्टीबाट खटिएको टोलीले भारतबाट चार वटा साइकलमा भन्सार छली गरी ल्याइँदै गरेको ४७ हजार २ सय रुपैयाँ बराबरका मोटर पार्ट्स, कपडा तथा किराना सामान र ८ हजार रुपैयाँ मूल्यका चारवटा साइकल गरी ५५ हजार २ सय रुपैयाँ बराबरका सामान बरामद गरेको छ।
यस्तै, छिपहरमाई गाउँपालिका–५, भिस्वास्थित बीओपी भिस्वाबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा ल्याइँदै गरेको ३२ हजार १४० रुपैयाँ बराबरका कस्मेटिक तथा किराना सामान बरामद गरी आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाएको जनाएको छ।
सशस्त्र प्रहरी बलका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाका अनुसार बरामद गरिएका सबै सामान तथा सवारीसाधन आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको छ।