×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिका–४ बजारस्थित कुशवाहा बीज भण्डारले रासायनिक मलको बिक्रीमा कालाबजारी गरेको आरोप लाग्दै त्यससम्बन्धी भिडियो सार्वजनिक भएको छ।

सार्वजनिक भएको भिडियोमा पोटास मलको संस्थानले तोकेको बिक्री मूल्य रु. १,८०० रहेको उल्लेख भए पनि किसानसँग रु. २,४०० देखि २,५०० सम्म असुल गरिएको दाबी गरिएको छ। भिडियोमा मलको खरिद–बिक्रीसम्बन्धी विवरण देखाइएको भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ।

स्थानीय किसानहरूले सरकारले तोकेको मूल्यभन्दा बढी रकम तिर्न बाध्य बनाइएको आरोप लगाउँदै सम्बन्धित निकायबाट घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्। किसानका अनुसार कृषि उत्पादनको मुख्य समयमा आवश्यक मलमा अस्वाभाविक मूल्य लिँदा आफूहरू थप आर्थिक मारमा परेको बताएका छन्।

यस विषयमा सम्बन्धित सरकारी निकाय तथा कुशवाहा बीज भण्डारको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन। सार्वजनिक भएको भिडियोको सत्यता र त्यसमा गरिएको दाबीबारे सम्बन्धित निकायबाट छानबिन हुन बाँकी रहेको छ।

स्थानीयवासीले कृषि सामग्रीको बिक्री वितरणमा अनुगमन प्रभावकारी बनाउन तथा कालाबजारी नियन्त्रणका लागि प्रशासन र सरोकारवाला निकायले तत्काल पहल गर्नुपर्ने माग गरेका छन्। पर्साको पोखरियामा मलमा कालाबजारी गर्दै कुशवाहा बीज भण्डारको भिडियो यात्रा डेलीसंग सुरक्षीत रहेको छ ।

Back to top