एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज । मधेस प्रदेशमा सबैभन्दा बढी बिरामीले सेवा लिने वीरगञ्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्ष (इमर्जेन्सी) सेवा आइतबारदेखि बन्द गरिएको छ। आकस्मिक कक्षमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि शनिबार भएको कुटपिटको विरोधमा चिकित्सकहरूले इमर्जेन्सी सेवा बन्द गरेका हुन्।
अस्पताल स्रोतका अनुसार आकस्मिक कक्षमा काम गर्ने सुरक्षित वातावरण नरहेको तथा चिकित्सक र स्वास्थ्यकर्मीले सुरक्षाको प्रत्याभूति महसुस गर्न नसकेकाले सेवा स्थगित गर्न बाध्य भएको जनाएको छ।
शनिबार वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि उनका परिवारका सदस्य तथा आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए।
आक्रमणमा परी आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा. प्रमोद राम गम्भीर घाइते भएका छन्। उनको नारायणी अस्पतालकै सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चितरञ्जन साहका अनुसार डा. रामको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। यद्यपि, उनको अवस्था अहिले चिन्ताजनक नरहेको र पूर्ण रूपमा स्वास्थ्यलाभ गरी काममा फर्किन केही दिन लाग्ने बताइएको छ।
मेसु डा. साहले हृदयघात (कार्डियाक अरेस्ट) भएका बिरामीको ज्यान जोगाउनु धेरै अवस्थामा चुनौतीपूर्ण हुने उल्लेख गर्दै उपचारका क्रममा बिरामीको मृत्यु हुनासाथ चिकित्सकलाई दोषी ठहर गर्नु उचित नहुने बताए।
नारायणी अस्पतालको आकस्मिक कक्षमा दैनिक ठूलो सङ्ख्यामा बिरामी आउने भए पनि सीमित जनशक्तिका भरमा सेवा सञ्चालन हुँदै आएको छ। हाल आकस्मिक कक्षमा एक जना वरिष्ठ चिकित्सक, चार जना मेडिकल अफिसर तथा १४ जना स्वास्थ्यकर्मी (प्यारामेडिक्स) ले चौबीसै घण्टा सेवा प्रदान गर्दै आएका छन्।
आकस्मिक सेवा बन्द भएपछि आपत्कालीन उपचारका लागि अस्पताल पुग्ने बिरामीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। घटनापछि अस्पतालको सुरक्षा व्यवस्था कडा पारिएको छ भने चिकित्सकमाथि भएको आक्रमणबारे सम्बन्धित निकायले अनुसन्धान अघि बढाएको जनाएको छ।