काठमाडौं । देशभरका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडित किसानहरूले आफ्ना माग तत्काल सम्बोधन गर्न सरकारमाथि दबाब सिर्जना गर्दै आइतबार काठमाडौंमा ‘राजधानी मार्च’ गरेका छन्।
लघुवित्तबाट लिएको कर्जा खारेज गर्नुपर्ने, ब्याज तथा जरिबाना मिनाहा गर्नुपर्ने र पीडित परिवारलाई राहत उपलब्ध गराउनुपर्ने मागसहित उनीहरू आन्दोलनमा उत्रिएका हुन्।
बल्खुबाट सुरु भएको ‘राजधानी मार्च’ भद्रकाली पुगेर कोणसभामा परिणत भएको थियो। प्रदर्शनमा देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितहरूको उल्लेख्य सहभागिता रहेको थियो।
आन्दोलनमा काखे शिशु बोकेका आमा, ज्येष्ठ नागरिक, स्वास्थ्य समस्याबाट पीडित व्यक्तिलगायत विभिन्न वर्गका नागरिक सहभागी भएका थिए। उनीहरूले लघुवित्त संस्थाबाट लिएको ऋणका कारण आफूहरू आर्थिक, सामाजिक तथा मानसिक रूपमा गम्भीर समस्यामा परेको गुनासो गरेका छन्।
प्रदर्शनकारीहरूले सरकारसँग आफ्ना मागप्रति संवेदनशील हुँदै समस्या समाधानका लागि ठोस र प्रभावकारी पहल गर्न आग्रह गरेका छन्। साथै, आफ्ना आवाज सम्बन्धित निकायसम्म पुर्याउन र माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनीसमेत दिएका छन्।
लघुवित्त पीडितहरूले सरकारसँग वार्तामार्फत समस्या समाधान गरी आफूहरूको जीवनयापन सहज बनाउने वातावरण सिर्जना गर्न माग गरेका छन्।