×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन्। घटनापछि प्रहरीले विशेष टोली परिचालन गर्दै घटनाको विस्तृत अनुसन्धान थालेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्री घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुगेर अनुसन्धानको नेतृत्व गरिरहेका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मृतक मकवानपुरको साविक चित्लाङ गाविस–६, हाल थाहा नगरपालिका–१० निवासी ४१ वर्षीय आश्मान गोपाली रहेको खुलेको छ।

प्रहरीका अनुसार घटनास्थलमा रगतसमेत फेला परेको छ। साथै मृतकसँगै रहेकी एक महिला घटनापछि सम्पर्कविहीन रहेकाले उनको खोजी कार्य तीव्र पारिएको छ। प्रहरीले घटनामा उनको संलग्नता रहेको वा नरहेकोबारे अनुसन्धान भइरहेको जनाएको छ।

घटनास्थललाई सुरक्षा घेराभित्र राखी प्रहरीले प्रमाण संकलन, प्रत्यक्षदर्शीसँग सोधपुछ तथा प्राविधिक अनुसन्धानलाई तीव्र बनाएको छ। अनुसन्धानका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजु विष्ट पनि टोलीसहित परिचालित भएका छन्।

यसैगरी हेटौँडा–११ की वडा अध्यक्ष पनि घटनास्थलमा पुगेर मृतकका आफन्तसँग आवश्यक समन्वय र सहयोगमा जुटेकी छन्।

घटनाको अनुसन्धानलाई थप प्रभावकारी बनाउन बागमती प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट कुकुरसहितको टोली पनि आज बिहान करिब ८:३० बजे घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ।

घटनाको कारण तत्काल खुल्न नसकेको र सबै पक्षबाट अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

Back to top