बीरगंज, १ भाद्र - गुणस्तरहीन सिमेन्ट बचेको ठहर भएपछि गुणस्तर तथा नापतौल विभागको कारवाहीमा परेको नारायणी सिमेन्ट उद्योगका एकपछि आर्को करतुतहरु खुल्दै जान थालेका छन् । विभागले उक्त उद्योगलाई उत्पादन र बिक्रीबितरणमा रोक लगाए पनि सरकारी निर्देशनलाई धोती लगाउँदै गुणस्तरहीन सिमेन्टको उत्पादन र बिक्रीबितरण गरिरहेको पाइएको छ ।
यो उद्योगले उत्पादन गरेको त्रिशक्ति र बज्रशक्ति ब्राण्डको ओपिसी र पिपीसी सिमेन्टको गुणस्तर विभागले दिएको मापदण्डअनुसार नभएपछि रोक लगाइएको थियो । विभागले उक्त उद्योगलाई दिएको गुणस्तरको प्रमाण स्थगन गरी उत्पादन र बिक्री रोक्न निर्देशन दिएकोमा उद्योगले अहिलेसम्म उक्त निर्देशनलाई टेरपुच्छर लगाएको छ्रैन । यसबारेमा उद्योगका सन्चालक सतिस चाचानसँग जिज्ञाशा राख्दा पछि कुरा गर्छु भन्दै पन्छिए । आधा घण्टापछि फोन गर्छु भनेका उनले त्यसपछि कुनै सम्पर्क गरेनन् ।
आफूलाई वीरगञ्जको एक नम्बरको औद्योगिक ग्रुप भन्न रुचाउने चाचान ग्रुपले कमसल सिमेन्ट बजारमा पठाएर आमउपभोक्ता र विकास निर्माणमा गरेको बदमासीको भण्डाफोर भएपछि अहिले ग्रुपका अध्यक्ष बाबुलाल चाचान र सिमेन्ट उद्योगका संचालक सतिस चाचान जसरी पनि सेटिङ मिलाउन दौडधुप गरिरहेको स्रोतले बताएको छ । उक्त सिमेन्ट उद्योग चाचान ग्रुपले सन्चालन गरेको उद्योग हो ।
गुणस्तरहीन सिमेन्ट बेचेर उपभोक्ता ठग्दै आएका उद्योगका सन्चालक सतिस चाचानले त्यसबाट आएको अनधिकृत आम्दानीबाट बिक्रेता खुशी पार्न भने अनेक उपाय अपनाएको पाइएको छ । कम गुणस्तरको सिमेन्ट बनाएर उपभोक्ताको जीवनको सुरक्षा र विकास निर्माणको गुणस्तरमाथि खेलवाड गरेका चाचानले आफ्नो कमसल उत्पादनको बिक्री बढाउने शर्तमा बिक्रेता र केही कर्मचारीलाई विदेश शयरमा लगेर अश्लिल नृत्यको मनोन्जन दिलाएको रहस्य यात्रा डेलीले सार्वजनिक गरेको थियो । अहिले ती करतुत लुकाउन लागेका छन् । समाचारबाट अत्तालिएका चाचानले आफ्ना कर्मचारीलाई धम्की दिँदै उनीहरुको फेसबुक पेजबाट त्यस्ता फोटो र भिडियो हटाउन लगाए पनि ती सामग्री सुरक्षित छन् ।
बाबुलाल चाचानको उद्योगको बदमासी बाहिर आएपछि अहिले उनका अन्य उद्योगका उत्पादनको गुणस्तरका बारेमा पनि जाँचबुझ सुरु भएको सरकारी स्रोतले बताएको छ । चाचान ग्रुपले खानेतेल र दाललगायतको उत्पादनमा पनि मिसावट गरी उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरिरहेको उजुरी विभिन्न ठाउँमा परेको बताइएको छ ।