×

वीरगञ्ज, १४ भदौ - स्नातक तहको परीक्षा र नयाँ भर्नाको मुखमा वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा तोडफोड भएको छ । मोफसलकै पुरानो र महत्वपूर्ण शैक्षिक धरोहरका रुपमा रहेको यो क्याम्पसलाई बदनाम गराउन यस्ता घटनाहरु सुनियोजित रुपममै भइरहेको बताइएको छ ।

नेकपा एमाले र माओवादी केन्द्र एकीकृत भएपछि बनेको नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूका विद्यार्थीले बिहीबार बिहान क्याम्पसमा तोडफोड गरेका छन् । विगतमा क्याम्पसले बाँड्ने छात्रवृत्ति बितरणको बेलामा सोही संगठनले लेखा शाखामा लागाइएको ताला विद्यार्थीहरुले तोडिदिएका थिए ।

क्याम्पस प्रशासनले सोही विषयमा छलफलका लागि बोलाएकोमा सहमति नबनेपछि उत्तेजित अनेरास्ववियूका विद्यार्थीले क्याम्पसमा तोडफोड मच्चाएका हुन् । तोडफोडबाट क्याम्पसको भौतिक संरचनामा क्षति पुगेको छ ।

वीरगञ्जको एकमात्र सरकारी क्याम्पस ठाकुररामलाई बदनाम गराउन पाए आफ्नो व्यवसाय मालामाल हुने मनोकांक्षा पालेका वीरगञ्जका निजी कलेज सञ्चालक र शैक्षिक माफियाहरुले विद्यार्थीलाई उचालेर बेलाबेलामा यस्ता हर्कत मच्चाउने गरेको ठाकुररामका एक प्राध्यापकले बताए ।

ठाकुररामको क्याम्पस प्रमुख, प्रशासन, लेखा र परीक्षा शाखामा तालाबन्दी सामान्यजस्तै भएको छ । ती विभागको ढोकामा तालामाथि ताला ठोकिएको दृष्य सजिलै देख्न सकिन्छ । क्याम्पसमा सक्रिय सबै विद्यार्थी संगठन कुनै न कुनै उद्देश्यबाट माफियाको निर्देशनमा यस्ता गतिबधिमा लागेको पाइन्छ । विद्यार्थी हकहतिको आवरणमा वैयक्तिक स्वार्थको दूनो सोझ्याउन पल्किएका विद्यार्थी समूह र तिनका नेताको हर्कतले यो क्याम्पसको शिक्षण र छविमा आँच पुगेको भन्दै विद्यार्थीहरुले चिन्ता व्यक्त गरेका छन् ।

Back to top