×

वीरगञ्ज । वीरगञ्जस्थित होटल त्रिशलामा समूह १६ को वार्षिक साधारण सभा (एजीएम) शनिबार सम्पन्न भएको छ। मानव अधिकार, सामाजिक न्याय तथा नागरिक स्वतन्त्रताको संरक्षण र प्रवर्द्धनलाई केन्द्रमा राख्दै आयोजित सभाले आगामी वर्षका कार्ययोजनासमेत पारित गरेको छ।

समूह संयोजक रजनीश झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव सुनील महतोले सञ्चालन गरेका थिए। वरिष्ठ मार्गदर्शक राजेश जैन बोथराले स्वागत मन्तव्य व्यक्त गर्दै समूह १६ ले मानव अधिकार, सामाजिक न्याय तथा नागरिक स्वतन्त्रताको क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरे।

कार्यक्रममा बोर्ड सदस्यहरू ममता यादव, संगीता पटेल, कोषाध्यक्ष मन्नु यादव, सुरेश पारेख, विजय गुप्तालगायत २० जना सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

सभामा प्रस्तुत वार्षिक प्रतिवेदनअनुसार समूह १६ ले गत वर्ष मानव अधिकारसम्बन्धी सचेतना अभिवृद्धि, नेतृत्व विकास, सदस्यहरूबीच सहकार्य विस्तार तथा विभिन्न सामाजिक गतिविधि प्रभावकारी रूपमा सञ्चालन गरेको जनाएको छ। प्रतिवेदनमा समुदायस्तरमा मानव अधिकारसम्बन्धी जनचेतना फैलाउन र सकारात्मक बहसको वातावरण सिर्जना गर्न समूहले उल्लेखनीय भूमिका निर्वाह गरेको उल्लेख गरिएको थियो।

आगामी वर्षका कार्यक्रमबारे जानकारी दिँदै समूह संयोजक रजनीश झाले विद्यालय, कलेज तथा समुदायस्तरमा मानव अधिकार शिक्षा तथा सचेतनामूलक कार्यक्रमलाई थप विस्तार गरिने बताए। विशेषगरी युवापुस्तामा मानव अधिकार, नागरिक स्वतन्त्रता र सामाजिक उत्तरदायित्वबारे ज्ञान अभिवृद्धि गर्न विशेष पहल गरिने उनले जानकारी दिए।

सभामा नागरिक स्वतन्त्रताको क्षेत्र (सिभिल स्पेस), यातना (टर्चर) तथा हिरासतमा हुने मृत्यु (कस्टोडियल डेथ) जस्ता गम्भीर मानव अधिकारका विषयमा विस्तृत छलफल भएको थियो। यस्ता घटनाको रोकथाम, पीडितहरूको न्यायमा पहुँच सुनिश्चित गर्ने उपाय तथा मानव अधिकार संरक्षणका लागि प्रभावकारी रूपमा आवाज उठाउने विषयमा सदस्यहरूले आ–आफ्ना धारणा राखेका थिए। साथै, सचेतना अभियान, संवाद कार्यक्रम, अनुसन्धान तथा वकालतमार्फत मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

यसै अवसरमा समूह १६ प्रति पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै पत्रकार अभिलाष कुमार गुप्तालाई मायाको चिनो (टोकन अफ लभ) प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रमको समापनमा सहभागीहरूले मानव अधिकारको संरक्षण, सामाजिक न्यायको प्रवर्द्धन तथा नागरिक स्वतन्त्रताको सुदृढीकरणका लागि आगामी वर्ष अझ प्रभावकारी रूपमा कार्य गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए। सौहार्दपूर्ण वातावरणमा सम्पन्न साधारण सभाले आगामी वर्षका नीति तथा कार्यक्रमलाई समेत अनुमोदन गरेको समूहले जनाएको छ।

Back to top