वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह निलम्बनपछि महानगरको सरसफाइ, हरियाली तथा ट्राफिक व्यवस्थापनमा शिथिलता देखिएको विषयमा यात्रा डेलीमा बिहीबार समाचार प्रकाशित भएपछि महानगरपालिकाले बजार क्षेत्रको सरसफाइ अभियानलाई तीव्र बनाएको छ।
कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको निर्देशनमा महानगरपालिकाले विभिन्न बजार क्षेत्रमा थुप्रिएको फोहोर संकलन गर्नुका साथै जाम भएका नालाहरू सफा गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको हो।
महानगरपालिकाका अनुसार मुख्य व्यापारिक क्षेत्र अलखियामठ, आदर्शनगरलगायतका स्थानमा केही समयदेखि फोहोर थुप्रिने र नाला जाम हुने समस्या देखिएपछि सरसफाइ शाखा तथा प्राविधिक टोलीलाई तत्काल परिचालन गरिएको हो।
निर्देशनपछि सरसफाइ टोली आवश्यक उपकरण तथा सवारीसाधनसहित सम्बन्धित क्षेत्रमा परिचालित भएको छ। टोलीले सडक तथा गल्लीमा थुप्रिएको फोहोर संकलन गरी व्यवस्थापन गर्नुका साथै सर्वसाधारण र सवारीसाधनको आवागमनमा बाधा नपुग्ने गरी सरसफाइ कार्य सञ्चालन गरिरहेको महानगरपालिकाले जनाएको छ।
वर्षायामलाई मध्यनजर गर्दै बजार क्षेत्रका जाम भएका नालाहरू सफा गर्ने, थुनिएको पानीको निकास खुलाउने तथा ढल प्रणालीलाई व्यवस्थित बनाउने कार्यलाई पनि समानान्तर रूपमा अघि बढाइएको छ।
सरसफाइ अभियान सुरु भएपछि बजार क्षेत्रको वातावरणमा सुधार आउन थालेको भन्दै स्थानीय व्यवसायी तथा सर्वसाधारणले महानगरपालिकाको सक्रियतालाई सकारात्मक रूपमा लिएको बताएका छन्।
महानगरपालिकाले बजार क्षेत्रलाई स्वच्छ, सफा र दुर्गन्धमुक्त बनाउने अभियानलाई निरन्तरता दिने जनाएको छ। साथै, फोहोर जथाभावी नफाल्न, तोकिएको स्थानमा मात्र फोहोर व्यवस्थापन गर्न तथा नालामा अवरोध पुग्ने गरी कुनै पनि सामग्री नराख्न सम्पूर्ण नगरवासीसँग आग्रह गरेको छ।