वीरगञ्ज । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपासँग कार्यगत एकताको सम्भावना औंल्याएको तीन दिनपछि नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘अन्तिम क्रमभंग’को घोषणा गरेसँगै नेपाली राजनीतिमा वाम एकताको बहस फेरि तीव्र बनेको छ।
विराटनगरमा आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले एमाले र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)सँग सहकार्यका लागि छलफल भइरहेको खुलासा गरे। आगामी महाधिवेशनलाई विशेष हुने संकेत गर्दै उनले भने, ‘प्रचण्डको अन्तिम क्रमभंग हेर्नुस्, अब कस्तो हुन्छ।’
नेपाली राजनीतिका महत्वपूर्ण मोडहरूमा निर्णायक निर्णय लिने नेताका रूपमा चिनिएका प्रचण्डले यसअघि एकता केन्द्र गठन, जनयुद्धको सुरुवात, शान्ति प्रक्रियामा प्रवेश तथा २०७४ सालमा तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच भएको पार्टी एकीकरणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
यता, एमाले सचिवालयको आकस्मिक बैठकमा अध्यक्ष ओलीले वाम आन्दोलनमाथि चुनौती बढ्दै गएको उल्लेख गर्दै समाजवाद पक्षधर शक्तिहरूबीच सहकार्य अपरिहार्य रहेको धारणा राखेका थिए। उनले देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरूले कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने प्रयास गरिरहेको दाबी गर्दै विचार मिल्ने वाम शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताएका थिए।
राजनीतिक वृत्तमा एमाले र नेकपाबीच कार्यगत एकतादेखि पार्टी एकीकरणसम्मको सम्भावनाबारे विभिन्न अड्कलबाजी भइरहेका बेला उच्च स्रोतलाई उद्धृत गर्दै केही सञ्चारमाध्यमहरूले दुई पक्षबीच यसबारे अनौपचारिक समझदारी बनेको दाबी गरेका छन्। यद्यपि यसबारे कुनै पनि दलले औपचारिक पुष्टि गरेका छैनन्।
स्रोतका अनुसार अध्यक्ष ओलीले प्रचण्डलाई संसदीय दलको नेता बन्ने प्रस्तावसमेत राखेका छन्। यस्तो भएमा प्रचण्ड प्रमुख प्रतिपक्षी दलको नेताको भूमिकामा पुग्न सक्ने चर्चा पनि राजनीतिक वृत्तमा चलिरहेको छ। यद्यपि यस विषयमा सम्बन्धित पक्षबाट आधिकारिक धारणा सार्वजनिक भएको छैन।
यसैबीच, पछिल्लो समय अध्यक्ष ओली र प्रचण्डबीच पटक–पटक भेटवार्ता भएको चर्चा पनि छ। स्रोतहरूका अनुसार दुवै नेताबीच कार्यगत सहकार्य र भविष्यमा पार्टी एकीकरणको सम्भावनाबारे छलफल भइरहेको दाबी गरिएको छ।
यसै सन्दर्भमा मदन भण्डारी फाउण्डेशनले आयोजना गर्न लागेको ‘नेपालको कम्युनिष्ट आन्दोलन र मदन भण्डारी विषयक विचार गोष्ठी तथा पुरस्कार वितरण समारोह’ लाई पनि वामपन्थी शक्तिहरूबीच संवाद र सहकार्यको वातावरण निर्माण गर्ने अवसरका रूपमा हेरिएको छ। पर्सि आइतबार राष्ट्रिय सभा गृहमा आयोजना हुने उक्त कार्यक्रममा अध्यक्ष ओली, प्रचण्ड, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा सहसंयोजक माधवकुमार नेपाल, झलनाथ खनाल तथा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी हुने कार्यक्रम रहेको छ।
पछिल्ला राजनीतिक घटनाक्रम र शीर्ष नेताहरूका सार्वजनिक अभिव्यक्तिले वाम शक्तिहरूबीच कार्यगत सहकार्य तथा सम्भावित एकताको बहसलाई पुनः केन्द्रमा ल्याएको भए पनि यसबारे कुनै औपचारिक निर्णय भने सार्वजनिक भएको छैन।