वीरगञ्ज । सामाजिक सञ्जालमार्फत साम्प्रदायिक घृणा तथा द्वेष फैलाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार "Jiban Oli" नामक फेसबुक पेजमा मधेशी मूलका व्यक्तिलाई दुर्व्यवहार गरिएको देखिने भिडियो सामग्री सार्वजनिक गरी जात, जाति तथा समुदायबीचको सद्भावमा खलल पुग्ने खालको सामग्री प्रसारण गरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले उनीहरूलाई रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३ माछिमीबाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ निवासी २८ वर्षीय डिल्ली बहादुर ओली, सोही स्थानका ३१ वर्षीय राजन के.सी. तथा कपिलवस्तुको कृष्णनगर नगरपालिका–४ शिरसवा स्थायी घर भई हाल रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ सल्लेस्थित पाउरोटी उद्योग सञ्चालन गर्दै आएका ३१ वर्षीय रघुबिर कोरी रहेका छन्।
प्रहरीका अनुसार उनीहरूमाथि सामाजिक सञ्जालमार्फत साम्प्रदायिक घृणा वा द्वेष फैलाउने तथा जात, जाति र समुदायबीचको सामाजिक सद्भावमा खलल पुर्याउने कार्यमा संलग्न रहेको आरोपमा अनुसन्धान अघि बढाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।